गाउँपालिका अध्यक्षलाई थप्पड र चप्पल हान्ने उपाध्यक्ष पक्राउ – Nepal Press

गाउँपालिका अध्यक्षलाई थप्पड र चप्पल हान्ने उपाध्यक्ष पक्राउ

सुर्खेत । जुम्ला गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकारी मल्ल भण्डारी अध्यक्ष दानबहादुर बुढालाई हातपात गरेको आरोपमा पक्राउ परेकी छन् । अध्यक्षले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकारसमेत खोसेको भन्दै उपाध्यक्षले असार ३१ गते थप्पड र चप्पल हानेको बताइएको छ ।

उपाध्यक्ष भण्डारीले आफ्नो अधिकार पनि अध्यक्षले खोसेको आरोप लगाएकी थिइन् । अध्यक्ष बुढाले उनीमाथि कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन् ।

नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा उपाध्यक्षले बेइमानी गरेको अध्यक्षको आरोप छ ।

अध्यक्ष बुढाले भने ‘वार्षिक नीति तथा कार्यक्रम सभामा लैजाने अधिकार मसँग छ । त्यो अधिकार प्रयोग गरेर कार्यपालिकाका बैठकमा अनुमोदन गरी सभामा लैजाने तयारि गरेको थिएँ । बैठकमा उपाध्यक्ष आउनुभएन । अर्को दिन बैठक राख्दा उहाँ एकैचोटि छिरेर बजेट सिलिङ चाहियो भन्नुभयो । मैले आईटी सरलाई बजेट सिलिङ्ग प्रिन्ट गरेर दिनुस् भने । अगाडि बढ्दै आउनु भयो एक्कासी मेरो गालामा हिर्काउनु भयो । त्यसपछि एक्कासी चप्पल निकालेर हाल्न थाल्नुभयो निन्दनीय र अलोकतान्त्रिक घटना भयो ।’

अभद्र व्यवहारमा जाहेरी आएकोले कारबाही सुरू गरिएको जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए । प्रहरीका अनुसार उपाध्यक्षलाई आज म्याद थपको तयारी छ । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष बुढा नेपाली कांग्रेस र उपाध्यक्ष भण्डारी नेकपा एसबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

One thought on “गाउँपालिका अध्यक्षलाई थप्पड र चप्पल हान्ने उपाध्यक्ष पक्राउ

  1. ठिक छ त माथी केन्द्रमा माकुने र सेरबाहादुर चुम्मा चाटन छ स्थानीय तहमा चप्पल हानाहान Good job keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर