चेक बाउन्स मुद्दामा पक्राउ परेको अर्को दिन नै रकम बुझाए पूर्व मन्त्री यादवले – Nepal Press

चेक बाउन्स मुद्दामा पक्राउ परेको अर्को दिन नै रकम बुझाए पूर्व मन्त्री यादवले

रुपन्देही । चेक बाउन्स मुद्दामा पक्राउ परेका पूर्व मन्त्री तथा एमाले नेता विजयबहादुर यादवले दुई दिनमै लामो समय अड्काएर राखेको खातामा रकम जम्मा गराएका छन् ।

पक्राउ परेको अर्को दिन नै उनले बाउन्स गराएको चेकमा रकम जम्मा भएको जाहेरीवालाले बताएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका यादवलाई बैङ्किङ कसुर गरेको मुद्दामा आइतबार बाँकेबाट पक्राउ गरेको थियो ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौँको चेक पटक पटक बाउन्स भएपछि उमाशंकरले विजयबहादुरमाथि बैङ्किङ कसुरको मुद्दा दर्ता गराएका थिए ।

रुपन्देही जिल्ला अदालतले असार २० गते यो मुद्दाका लागि पक्राउ अनुमति दिएको थियो ।
मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई सोमबार रुपन्देही ल्याइएको हो । उनलाई आजै अदालतमा म्याद थप गर्ने तयारी थियो ।

यो मुद्दामा जाहेरीवाला रुपन्देहीको सियारी १ का उमाशंकर यादवले सो चेकमा केही समयअघि रकम जम्मा भएको र आफू भैरहवा अदालत जाँदै गरेको नेपाल प्रेसलाई बताए ।

‘हामी पुरानै साथी थियौँ, जसपामा दुवै केन्द्रीय सदस्य थियौँ, अहिले त उहाँ यता हुनुहुन्न, ३ वर्षअघि समस्या परेर एक साताको लागि भनेर १२ लाख २८ हजारको दिएको हुँ, पटक पटक मागेर पनि दिनुभएन, बाध्य भएर यो विधिमा जानुपर्‍यो, सक्ने भएर पनि दिनुभएन, हिजोको आजै जम्मा हुने रहेछ छ’ उनले भने ।

उमाशंकर सियारीमा कृषि फर्म चलाएर बसेका छन् भने विजय बाँकेमा बस्छन् ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’ बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।

पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही समेत गरेको थियो ।

जसपाको कारबाहीपछि यादव नेकपा एमालेमा प्रवेश गरेका थिए । गत प्रदेशसभा चुनावमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

जाहेरीवालाले खातामा रकम आएको भने पनि प्रहरीसमक्ष अझै त्यो सूचना पुगेको छैन । यो मुद्दामा रकम बुझाए पनि उनी तुरुन्तै रिहा हुन पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर