कोशी व्यारेजमा भारतीय पत्रकारको तमासा, स्थानीयबाट यसरी लखेटिए – Nepal Press

कोशी व्यारेजमा भारतीय पत्रकारको तमासा, स्थानीयबाट यसरी लखेटिए

नेपालका युट्यूवरसँग विवादपछि भारतीय पत्रकारको रिपोर्टिङ, ‘यहाँके पत्रकारको हिन्दी बोलाना नहीँ आता’

काठमाडौं । शुक्रबार बिहान एउटा ट्रक कोशीको पुलबाट खस्यो । दिउँसोतिर दुई भारतीय पत्रकार (एक पुरुष र एक महिला) कोशी व्यारेजमा देखिए । उनीहरूले रिपोर्टिङका नाममा त्यहाँ ड्यूटीमा रहेका प्रहरीहरूलाई केरकार गर्न थाले ।

पुरुष पत्रकार एक प्रहरीलाई थर्काउने शैलीमा सोधिरहेका थिए, ‘यहाँ ट्रक कि पल्टी कैसे हो ति है ?’

ती प्रहरीको जवाफ थियो, ‘थाहा भएन, सम्बन्धित निकायमा सोध्नुस् ।’

त्यसपछि पत्रकार क्यामरातिर फर्किएर चर्किए, ‘आप देख सक्ते हे, जो ब्यारेज पे अन ड्यूटी कर रहे उनको खुद पता नहीँ है कि ट्रक कि पल्टी कैसी होति है ।’

त्यसपछि अर्का प्रहरीलाई बुम तेर्स्याउँदै उही प्रश्न सोध्छन्, ‘यहाँ ट्रक कि पल्टी कैसे होति है ?’

ती प्रहरी भन्छन्, ‘ट्रकको पल्टी… कैसे हुन्छ कैसे हुन्छ…’

पत्रकार सोध्छन्, ‘हिन्दी नहीँ जानते है आप ?’

प्रहरीले नजान्ने भाव व्यक्त गरेपछि पत्रकार फेरि क्यामरातिर फर्किएर चिच्याउँछन्, ‘देखिए, यहाँकी पुलिसको हिन्दी नहीँ आति ।’

त्यही स्थानमा रिपोर्टिङ गर्न पुगेका थिए, विराटनगरका पत्रकार सोनुकुमार दास । भारतीय पत्रकारको प्रस्तुति देखेर उनलाई ओडाहा भयो । त्यसपछि उनले ती पत्रकारमाथि नै रिपोर्टिङ गर्न सुरू गरे ।

पुरुष पत्रकारलाई बुम तेर्स्याउँदै उनले सोधे, ‘तपाईंहरूले नेपालमा रिपोर्टिङ गर्न अनुमति लिएर आउनुभएको हो ?’

भारतीय पत्रकारले जवाफ दिए, ‘मैले प्रशासनमा गाडी राखेँ र रिपोर्टिङ गरेर आउँछु भनेर आएँ ।’

सोनुले सोधे, ‘प्रशासनले अनुमति दिएको कुनै प्रुफ छ तपाईंसँग ?’

ती पत्रकारले कुनै प्रमाण देखाउन सकेनन् । बरु फलाक्न थाले, ‘हेर्नुस्, नेपाल र भारतको रोटी बेटीको सम्बन्ध छ…’

तर, उनले आफ्नो कुरा सकाउन नपाइकन उनकी सहयोगी महिला पत्रकार बम्किन थालिन् । सोनुसँग उनको विवाद सुरू भयो ।

सोनुले आफू नेपाली पत्रकार भएको भन्दै भारतबाट आएर रिपोर्टिङ गर्न प्रशासनको अनुमति चाहिने दोहोर्‍याए ।

त्यसपछि महिला पत्रकारले भनिन्, ‘तपाईंसँग नागरिकता छ ? हेराउनुस् ।’

सोनुले आफ्नो परिचयपत्र देखाउँदै भन्छन्, ‘म नेपालको हुँ, तपाईं कहाँको हुनुहुन्छ ?’

त्यसपछि ती महिला होस गुमाउँछिन् र सोनुलाई अपशब्दसहित अश्लिल इशारा गर्छिन् । यति मात्र होइन, सोनूले आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउन भ्याउँछिन् । पुरुष पत्रकार पनि उनलाई साथ दिन्छन् । उनीहरूले सोनुको क्यामरा खोस्न प्रयास गर्छन् । नसकेपछि भिडिओ डिलिट गर्न आदेश दिन्छन् । तर, त्यहाँ उपस्थित स्थानीयहरूले भारतीय पत्रकारको कडा प्रतिकार गर्छन् ।

‘आफैं अश्लील शब्दहरू प्रयोग गर्ने, उल्टै छोएको आरोप लगाउने ?’ भन्दै स्थानीयहरू जाइलागेपछि भारतीय पत्रकार हच्किन्छन् ।

क्यामरातिर फर्केर पुरुष पत्रकार फुस्फुसाउँदै भन्छन्, ‘देखिए, ऐ ऐसे पत्रकार है जिसको हिन्दी बोलना नहीँ आता ।’

त्यसपछि उनीहरू दुवै त्यहाँबाट भाग्छन् ।

यस्तो लफडा भइरहँदा घटनास्थलमा प्रहरीको उपस्थिति भने देखिएको छैन । यस विषयमा हामीले पत्रकार सोनु दाससँग कुरा गर्दा उनले प्रहरी निरिह बनेको आरोप लगाए ।

‘प्रहरी नजिकै थिएँ, तर भारतीय पत्रकारले दादागिरी देखाउँदा उनीहरू निरिह बनेर बसिरहे,’ उनले भने ।

प्रहरीले हस्तक्षेप नगरेपछि सोनु आफैं प्रहरीसम्म पुगेका थिए । उनले भने, ‘मलाई पनि पक्राउ गर्नुस् र तिनीहरूलाई पनि पक्राउ गरेर कारबाही गर्नुस् ।’

तर, प्रहरीले स्थानीयबासी आक्रोशमा रहेको र घटनाले उग्ररूप लिन सक्ने भन्दै लाचारी देखाएको सोनु बताउँछन् ।

भारतीय पत्रकारले सीमा क्षेत्रमा आएर दादागिरी देखाउने यो कुनै नयाँ घटना भने होइन । उनीहरू विनाअनुमति नेपालमा आएर रिपोर्टिङ गर्दै यथार्थभन्दा गलत रिपोर्टिङ गर्दै आएका छन् । नेपाली प्रहरी-प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्ने तर भारतीय मिडियासामु लाचार देखिने गरेको स्थानीय सञ्चारकर्मीको गुनासो छ । नेपाली सञ्चारकर्मीले भारतमा अनुमति लिएर रिपोर्टिङ गर्दा पनि क्यामरा खोस्ने र भिडिओ डिलिट गर्न लगाउने गरिएको सोनु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *