अर्कैसँग बिहे गरेपछि गुप्तचरका कर्मचारीमाथि बलात्कार मुद्दा, प्रेममा धोका दिएको युवतीको बयान – Nepal Press

अर्कैसँग बिहे गरेपछि गुप्तचरका कर्मचारीमाथि बलात्कार मुद्दा, प्रेममा धोका दिएको युवतीको बयान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सहायक सूचक दामोदर पौडेलले आफूले विवाह गरेको चाल पाएपछि जाहेरवालाले फँसाउन खोजेको दाबी गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा पौडेलले जाहेरवालाले आफूलाई मन पराउने तर उनको आनीबानी आफूलाई मन नपर्ने कारणले टाढिएको र विवाह गरेको चाल पाएपछि फँसाउन खोजिएको बताएका हुन् ।

पौडेलले गत जेठ २४ गते आफ्नो सामाजिक परम्पराअनुसार विवाह भएको बताएका छन् । असार ५ गते पौडेलविरुद्ध किटानी जाहेरी परेको थियो । तीन दिनपछि प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।

पौडेलले अनुसन्धान अधिकारीसँग आफू राष्ट्रिय अनुसन्धान विभागमा १२ वर्षदेखि कार्यरत रहेको बताएका छन् । उनले ३/४ वर्षेदेखि आफूहरु एक अर्काको कोठा र अफिसमा जाने आउने भइरहेको बताएका छन् ।

जाहेरवालाले आफूलाई मन पराउने गरेको थाहा पाएपछि उनका नजिकसँग बुझ्दा राम्रो स्वभावको व्यक्ति नभएको बताएकाले आफू टाढिएको उनले अनुसन्धानका क्रममा बयान दिएका थिए ।

जाहेरवालाले आफैं लामो समयदेखि डिप्रेसनको बिरामी भएको र औषधिसमेत सेवन गर्दै आएको बताएको पौडेलको दाबी छ । पछिल्लो २ वर्षयता पीडित भनिएकी युवती र उनको परिवारले आफूलाई विवाहका लागि दबाब दिँदै आएको पनि पौडेलले उल्लेख गरेका छन् ।

यता जाह‍ेरवालाले पौडेलसँग विगत ५ वर्षदेखि चिनजान रहेको र २०७८ माघदेखि विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सम्पर्क हुँदै आएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उनीहरुबीच अन्तिमपटक गत भदौमा शारीरिक सम्पर्क भएको उल्लेख छ ।

विवाह गर्ने कुरा निकालेपछि पौडेल टाढिँदै गएको र बेवास्ता गरेको पनि जाहेरवालाले उल्लेख गरेकी छिन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पौडेलविरुद्ध ७ देखि १० वर्ष कैद सजाय माग गर्दे अभियोग पत्र दायर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर