लुम्बिनीका ४ वटा पालिकाको बजेट अनिश्चित – Nepal Press

लुम्बिनीका ४ वटा पालिकाको बजेट अनिश्चित

रुपन्देही । लुम्बिनीका ४ वटा गाउँपालिकाको आगामी वर्षको बजेट अनिश्चित बनेको छ । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित राजस्व र व्यय (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

तर, लुम्बिनीका १०९ मध्ये ७ वटा गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका थिएनन् । असार १० गतेभित्र बजेट पेश गर्ने र असार मसान्तभित्र पारित नगरे साउन १ गतेदेखि कुनै पनि रकम खर्च गर्न पाइँदैन ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, रोल्पाको गंगादेव गाउँपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकाले ढिलो गरी बजेट ल्याए पनि ४ वटा पालिकाको बजेट आउन सकेको छैन । सन्धिखर्क, गंगादेव र रोहिणीले क्रमशः असार ११, २४ र २८ गते बजेट ल्याएका हुन् ।

रुपन्देहीको समरीमाई, कोटहीमाई तथा कपिलवस्तुको शुद्धोधन र यशोधरा गाउँपालिकाले आन्तरिक कारण देखाउँदै बजेट ल्याउन सकेनन् । यीमध्ये तीनले सहमति जुटाएर असारमै बजेट ल्याउने तयारी गरे पनि शुद्धोधनको बजेट असारमा नआउने निश्चित भएको छ ।

शुद्धोधनले साउन २६ गतेमात्रै बजेट ल्याउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको बीचमा सहमति नजुट्दा डेढ महिना ढिलो गरी बजेट ल्याउने कार्यतालिका तय भएको बताए ।

‘संघ र प्रदेश सरकारबाट आउनुपर्ने अनुदान घटेर आएपछि त्यसको असर गाउँपालिकामा देखिएको छ, बजेट थोरै छ जनप्रतिनिधिहरुका योजना धेरै छन्’, ज्ञवालीले भने, ‘जनप्रतिनिधिहरुले बजेट सिलिङमा सहमति गर्न नसक्दा कर्मचारीलाई दबाब परिरहेको छ । एक महिनासम्म गाउँपालिका बजेटविहीन रहँदा त्यसको असर योजना कार्यान्वयनमा पर्न जान्छ, धेरै तनाव भइरहेको छ ।’

पालिकाका अध्यक्ष कमलेशरण चौधरीले साउन २६ गते बजेट आउने र त्योबीचको खर्च जसोतसो चलाउनुपर्ने बाध्यता भएको बताए ।

‘यस्तै समस्या पर्‍यो, समयमा गर्न सकिएन, ठूला योजना र खर्च त छैनन् । तर, दैनिक खर्चलाई केही गरी व्यवस्था गर्नुपर्ला’, उनले नेपाल प्रेससँग भने ।

कपिलवस्तुकै यशोधरा गाउँपालिकाले पनि नीति तथा कार्यक्रम पास गरिसके पनि बजेट ल्याउन बाँकी छ । गाउँपालिकाका प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बजेटको तयारी भइरहेको र आइतबार आउनसक्ने बताए । तर, पूर्ण सहमति जुटेको छैन ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आइतबार बजेट ल्याउने तयारी गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले जनप्रतिनिधिबीच बजेटको सिलिङबारे मतभेद हुँदा समयमा बजेट ल्याउन नसकिएको र आइतबार ल्याउने प्रयास भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर