भ्रष्टाचार प्रकरणमा देउवा निकट खाणदेखि गुरुङसम्म- निलम्बन गर्न दबाब, परम्परा देखाएर टार्ने दाउ – Nepal Press

भ्रष्टाचार प्रकरणमा देउवा निकट खाणदेखि गुरुङसम्म- निलम्बन गर्न दबाब, परम्परा देखाएर टार्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसको विधानमा केन्द्रीय समितिको बैठक प्रत्येक दुईदुई महिनामा बस्नुपर्ने व्यवस्था भए पनि एक वर्षपछि मंगलबार बस्दैछ । तर, बैठकको एजेण्डा अझै निश्चित छैन ।

पार्टीभित्रको आन्तरिक विवादको कारणले सभापति शेरबहादुर देउवाले बैठक टार्दै आएका थिए । देउवाबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनसम्मको एजेण्डा अघि सारिसकेका छन् ।

देउवाको कारणले नीति महाधिवेशन हुन नसकेको निष्कर्षसहित महामन्त्री थापाले विशेष महाविधेशनको माग गर्न थालेका छन् । देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व रुपान्तरण गर्नुपर्ने उनको बुझाइ छ । उनले संसदीय दलको नेताबाट समेत हटाउनेगरी गृहकार्य गरिरहेका छन् ।

देउवाकै कारणले गत वर्ष भएको निर्वाचनको समीक्षा, गठबन्धन बन्ने र भत्कने परिदृश्यलगायतका धेरै विषयमा देउवाले केन्द्रीय समितिको बैठकमा जवाफ दिनुपर्नेछ । तर, देउवालाई सहज छैन ।

देउवालाई मात्रै नभएर महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्माले पनि केन्द्रीय समितिको बैठकको यसलाई सामना गर्नुपर्नेछ । नेताहरु उनीहरुमाथि पनि सन्तुष्ट हुन सकेका छैनन् ।

बैठकमा विशेषतः गत वर्ष भएका तीनै तहका निर्वाचन, राष्ट्रपति निर्वाचन, गठबन्धनलगायत समसायिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

देउवाले बैठकलाई समसामयिक विषयमा केन्द्रित गराएर टुंग्याउने तयारी गरे पनि महामन्त्री थापा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणदेखि अन्य भ्रष्टाचारका विषयमा पार्टीका नेताहरु जोडिएको विषयलाई पनि बैठकमा जबरजस्त बनाउने प्रयासमा छन् ।

नेतृत्वमाथि महामन्त्री थापाले दबाब बढाउन खोज्दा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला रणनीतिक रुपमा पछिल्लो समय मौन छन् । यद्यपि, अहिले कांग्रेस पनि सरकारमा छ ।

सरकारले एकपछि अर्को गर्दै भ्रष्टाचारको फाइल खोल्दा ती मुद्दामा कांग्रेसका शीर्ष नेताहरु जोडिएका छन् । त्यसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उत्साहित देखिँदा कांग्रेस नेतृत्व सन्तुष्ट छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा निकटका बालकृष्ण खाण पुर्पक्षका लागि थुनामा छन् । उनी पक्राउ परेलगत्तै इतर पक्षले खाणलाई निलम्बन गर्न उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन र शर्मासहितका नेताहरु उभिए । तर, कांग्रेसमा देउवाकै निर्णय हावी हुने भएकाले त्यसलाई त्यसै टारे ।

अहिले केन्द्रीय समितिको बैठकमा पनि यो विषय नउठोस् भन्ने शीर्ष तहबाटै सहमति गराउन प्रयत्न गरिरहेका छन् । यो प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा देउवापत्नी आरजु राणा पनि तानिसक्नेमा देउवा सचेत छन् ।

बैठकको एजेण्डा नै नबनेपछि विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुबारे बैठकमा कुरा उठ्नसक्ने कांग्रेस नेता प्रदीप पौडेल बताउँछन् ।

उनले भने, ‘भ्रष्टाचार या अन्य विषयमा नाम जोडिएका व्यक्तिहरुको विषयमा बैठकको एजेण्डा नै नबने पनि केन्द्रीय सदस्यहरुलाई आफ्नो कुरा राख्ने छुट छ । त्यहाँ सबै विषयमा कुरा उठ्नसक्छ ।’

बालकृष्ण खाणसहित भ्रष्टाचारका ठूला प्रकरणमा नाम जोडिएका नेताहरुलाई बैठकले निलम्बनसम्म गर्नसक्छ भन्ने नेपालप्रेसको जिज्ञासामा उनले भने, ‘त्यो बैठकको निर्णय अहिले भन्नसक्ने कुरा हुँदैन । तर, सबै विषयमा कुरा गम्भीरताका साथ उठ्छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सन्देश शर्माले आरजुलाई पैसा बुझाएको भनिएको अडिओ मेल खाएपछि देउवा हच्किएका छन् । आरजू आफैंले परीक्षणका लागि प्रहरीमा उजुरी दिएपछि छानबि गर्दा संलग्न मुख्य गिरोहको आवाज रहेको पुष्टि भइसकेको छ ।

यस्तै देउवा निकट अर्का नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् । सरकारले भूटानी शरणार्थीपछि यो प्रकरणको अहिले छानबिन अघि बढाइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गच्छदार २०७६ सालमा सांसद पदबाट निलम्बनमा परेका थिए । तर, देउवाले गएको निर्वाचनमा सुनसरी ३ को टिकट उनैलाई दिएका थिए । तर, पराजित भए ।

गच्छदार पार्टीको १४ औं महाधिवेशन पनि देउवा प्यानलबाटै उपसभापतिमा लडेका थिए । उपसभापतिमा पराजित गच्छदारलाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि सांसद पदबाट निलम्बित भए पनि गुरुङलाई कांग्रेसले केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको छैन । संयोग नै मान्नुपर्छ अहिलेसम्म भ्रष्टाचारको आरोप लागेका नेताहरु देउवा निकटकै देखिएका छन् ।

त्यसो त अदालतमा गइसकेका विषयमा पार्टी बैठकमा छलफल गर्नुको अर्थ नहुने देउवा निकट रहेका सहमहामन्त्री किशोरसिंह राठौर बताउँछन् ।

उनले भने, ‘बालकृष्ण खाणको विषयमा अहिले अदालतमा गइसकेको छ । त्यसैले त्यसबारे पार्टी छलफल गर्न आवश्यक छैन । अदालतलाई प्रभाव गर्ने कुरा गर्नै हुँदैन । त्यसैले कसैलाई पनि निलम्बनसम्म गर्नेगरी पार्टी जाँदैन । त्यो पार्टी बैठकको एजेण्डा पनि बन्दैन ।’

खाणसहित कुनै प्रकरणमा आरोप लाग्दैमा नेताहरुमाथि पार्टीले निलम्बन गर्ने प्रचलन कांग्रेसमा नभएको उनको भनाइ छ । तर, महामन्त्री थापाले अभियोग लागेपछि परम्परा तोडेर भए पनि स्वतः निलम्बन गर्नुपर्ने मत राख्दै आएका छन् । पराम्परा छैन भनेर गलत कुरालाई बोकेर हिँड्न नसकिने उनको बुझाइ छ ।

त्यसो त अर्का सहमहामन्त्री जीवन परियार पनि अहिलेसम्म बैठकको एजेण्डा नटुंगिएको बताउँछन् । उनले भने, ‘अब साउन २ गते बिहानको बैठकले टुंग्याउँछ । त्यहाँ पार्टी सभापति र महामन्त्रीहरुबाट एजेण्डा प्रस्तुत हुन्छ ।’

खाणलगायत विभिन्न अभियोग लागेका नेताहरुमाथि कारबाही गर्ने बैठकको एजेण्डा बन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सभापति र महामन्त्रीहरुबाट एजेण्डा आउने हो । त्यसबारेमा के हुन्छ, अहिल्यै भन्न सकिँदैन ।’

कांग्रेस विधिको शासनको लागि ठूलो संघर्ष गरेको पार्टी भएकाले अब पनि विधिविहीनतामा चल्न खोजे चुुनौतीको सामना गर्न नसक्ने नेता गुरुराज घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘पार्टी अहिले अन्योलपूर्ण अवस्थामा छ । यो मुक्त नगरी समय र युग सापेक्ष जनता र कार्यकर्ताको चाहनाअनुरूप पार्टीलाई रूपान्तरण गर्न नसके आगामी चुनौती सामना गर्न सक्दैनौं । त्यसैले पार्टीमा प्रश्न उठेपछि त्यसको जवाफ दिन सक्नुपर्छ ।’

यस्तै, कांग्रेसले खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचारको आरोप लाग्दा पनि कारबाही गरेको थिएन । अहिले त्यही परम्परालाई बोक्दै देउवाले आफू निकट नेताहरुलाई पार्टीभित्रैबाट कारबाहीको दबाब आएपनि मौन बसेका छन् ।


प्रतिक्रिया

2 thoughts on “भ्रष्टाचार प्रकरणमा देउवा निकट खाणदेखि गुरुङसम्म- निलम्बन गर्न दबाब, परम्परा देखाएर टार्ने दाउ

  1. निलम्वन गर्ने पो भनेको हो सभापतिज्यू, निष्काशन हैन। किन डराएको? भोली तपाईलाई पनि आरोप लाग्यो भने निलम्बित हुन पर्ला भनेर डराएको?

  2. काँग्रेस भ्रष्टाचारकै पर्याय भएकैले, अझ देउवा त त्यसको मूली भ्रस्टाचारी भएकैले कांग्रेसको यो गति हुन पुगेको हो, यसमा दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर