सामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्ने सरकारको तयारी (भिडिओ) – Nepal Press

सामाजिक सञ्जाललाई कानून बनाएर मर्यादित र व्यवस्थित गर्ने सरकारको तयारी (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई कानून बनाउन मर्यादित र व्यवस्थित गर्ने गरी गृहकार्य थालेको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बजेटमा सांसदहरूले उठाएको सवालको जवाफ दिँदै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको जानकारी दिइन् । आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न योजना बनाइ काम गर्ने उनको भनाइ थियो । मन्त्री शर्माले विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने बताएकी छन् ।

साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरिरहेको पनि उनले बताइन् ।

शर्माले भनिन्, ‘सधैँ नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतीको रूपमा रहेको छ । डिजिटल साक्षरता प्रवर्द्धन गर्ने, र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । समाजिक सञ्जालको विषयमा गम्भिरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु ।’

सञ्चारमन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी गराइन् । गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर