नेताहरू स्वार्थमा केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्रनीति कमजोर बन्यो : देव गुरुङ – Nepal Press

नेताहरू स्वार्थमा केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्रनीति कमजोर बन्यो : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए ।

उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाए ।

सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताए ।

‘त्यसले गर्दा हाम्रा महत्वाकांक्षीहरु, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो । यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो । त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ । त्यसको विकल्प छैन, सकिन्छ,, सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ । सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ’, उनले भने, ‘नेपालले असंलग्न परराष्ट्रनीति अँगाल्दै आइरहेको छ । तर समस्या के देखिरहेको छु भन्दा पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । असंलग्नताको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ । कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ ।’

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विभेदपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताए ।

उनले परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेको बताए । उनले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताए । उनले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरु एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताए ।

‘विकास निर्माण, राज्य सञ्चालन मैत्रीपूर्ण प्रतिष्पर्धा हुनसक्छ तर मुलुकमा एकले अर्कोलाई निषेध गर्ने, अराजकता पैदा गर्ने, दलहरु हरेक ठाउँमा समानान्तर ढंगले चल्ने, राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थाल्यो । सबै प्रकारका पावर एक्सरसाइज दलहरुले गर्दै लैजाने, समानान्तर ढंगले चल्ने खालको प्रक्रियाले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको अवस्था छ । यही कमजोर बनेर गइरहेको अवस्था हुनाले यही अवस्थालाई शक्तिकेन्द्रले नाजायज फाइदा उठाउने मौका पाइरहेका छन्’, उनले भने, ‘दलहरुबीचमा लडाउने, टुटाउने, फुटाउने, विभाजन गर्ने, छिनछिनमा संसद, सरकार विघटन, छिनछिनमा सरकार परिवर्तन यस्तो प्रकारको अस्थिरताको खेल शुरु भएको छ । यो अस्थिरताको खेलको पछि हामीमा रहेका समस्याहरु, राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनको समस्या, घुँडा टेकुवावादी चिन्तनको समस्या, यस्ता प्रकारका समस्याले पनि हामीलाई असर गरेको छ ।’

महासचिव गुरुङले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको बताए ।

 


प्रतिक्रिया

One thought on “नेताहरू स्वार्थमा केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्रनीति कमजोर बन्यो : देव गुरुङ

  1. भारत नगई अन्त जाँदै जादिन भन्ने । नेपाल भारतबीचको सीमा विवादको कुरा द्विपक्षीय भेटमा गर्दै नगर्ने । भारत रिसाउला भनेर सन् १९५० को सन्धीको कुरै नउठाउने । ईपिजि प्रतिवेदन बुझ्न नमाने पनि केही नभन्ने । पहिला यस्तो दलनल प्रधानमन्त्रीलाई नेता मान्न छोड । त्यस्ता प्रधानमन्त्रीको पुच्छर बनेर अरू ठूला कुरा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर