रुसी हिमाल चढेर आएका आरोही पाण्डे भन्छन्- रुसी फौजमा नेपाली पर्यटक भएर जाँदा रहेछन् – Nepal Press

रुसी हिमाल चढेर आएका आरोही पाण्डे भन्छन्- रुसी फौजमा नेपाली पर्यटक भएर जाँदा रहेछन्

काठमाडौं । सगरमाथा र मनास्लु जस्ता नेपालका आठ हजार मिटर अग्ला चुचुरा चढिसकेका प्रकाशराज पाण्डे जुन २१ मा रुस प्रस्थान गरे । रुसमा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एल्ब्रुस चढ्न उनी रुस यात्रामा थिए ।

संयुक्त अरब इमिरेट्सको सारजा अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट हुँदै रुसको राजधानी मस्को पुग्न झण्डै नेपालबाट हिँडेको एक दिन लाग्यो । उनी जुन २२ मा मस्को विमानस्थलमा पुगे । विमानस्थलमा पुगेकै दिन विमानस्थलमा ज्यादै धेरै खानतलासी भयो । पाण्डे त्यो खानतलासीलाई अस्वाभाविक पनि भएको बताउँछन् ।

उनी भन्छन्, ‘इमेल, तस्बिरदेखि ह्वाट्सएपहरु सबै सबै चेक गरिएको थियो । त्यही दिन वाग्नर काण्ड आएकाले कडाइ गरिएको रहेछ ।’

पाण्डेले जुन २८ र २९ मा दुईपटक एल्ब्रुस हिमाल चढे । उनी १२ दिन पूरा हुँदा नेपाल फर्किए । नेपालबाट रुसतर्फ यात्रा गर्दा उनले रुसी फौजमा नेपालीहरु पुगेको सुनेका थिए । रुस यात्रामा उनले सुनेको खबरलाई थप बल पुग्ने केही दृश्यहरु देखे ।

याे पनि पढ्नुस् : युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

‘सारजाबाट मस्को यात्रामा थिएँ । त्यो यात्रामा हाम्रो हवाईजहाजमा तीन अरु नेपाली युवा पनि थिए’, पाण्डेले भने, ‘किन रुस यात्रामा जानु भएको भन्दा उनीहरुले केही खास काम भन्न सकेनन् । मैले इल्ब्रुस चढ्न गएको भनेको जस्तो सहजै उनीहरुले आफ्नो काम भन्न सकेनन् । सायद आर्मीमा गएका हुनसक्छन् ।’

पाण्डेले आफूले रुसमा सुनेअनुसार नेपालीहरु यूएईबाट मात्रै नभएर पोर्चुगलबाट पनि पुगेको सुनेको बताए । ‘नेपालीहरु पर्यटक भएर जाँदा रहेछन्’, पाण्डेले नेपाल प्रेसलाई भने ।

नेपाल प्रेसले सबैभन्दा पहिले रुसी फौजमा नेपालीहरु पुगेको सार्वजनिक गरेको थियो । अहिले यो मुद्दा सदन र सरकारदेखि अन्तर्राष्ट्रिय समाचारमा पुगेको छ । तर, सरकारले रोकथाम गर्न तथा फर्काउन केही देखिने पहल गरेको छैन ।

याे पनि पढ्नुस् : दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)

थप याे पनि पढ्नुस् : रुसी फौजमा जोडिएका नेपालीको आग्रह: ‘सोचे जस्तो छैन, अप्लाइ नगर्दा हुन्छ’ (भिडिओ)

थप याे पनि पढ्नुस् : सदनमा उठ्यो रुसी फौजमा नेपाली भर्तीको प्रश्न (भिडिओ)

याे पनि पढ्नुस् : रुसी फौजमा नेपाली पुगेकोबारे मैनालीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- सरकारको गहिरो ध्यान गएको छ (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *