एक प्रतिशत ब्याजदरमै ऋण लिन राष्ट्र बैंकलाई बैंकहरुकाे ‘अफर’ – Nepal Press

एक प्रतिशत ब्याजदरमै ऋण लिन राष्ट्र बैंकलाई बैंकहरुकाे ‘अफर’

काठमाडौं । बैंकहरुले अधिक रकम भएपछि एक प्रतिशत ब्याजदरमै ऋण दिन चाहेका छन । नेपाल राष्ट्र बैंकले बुधबार रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न खोज्दा बैंकहरुले ५३ अर्ब रुपैयाँसम्मको लागि आवेदन दिएका छन् ।

मंगलबार जारी गरेको रिभर्स रिपोमा ५३ अर्ब ५० करोड रुपैयाँ लिइदिन बैंकहरुले राष्ट्र बैंकसमक्ष आवेदन दिएका छन् । बैंकहरुले १.५९ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई ऋण दिन चाहेको देखिन्छ । १८ वटा बैंकले दिन चाहेको रकममा अधिकतम ब्याजदर २.९२ प्रतिशतसम्म कबोल गरिएको छ ।

राष्ट्र बैंकले बुधबार भारित औसत २.५४ प्रतिशत ब्याजमा २० अर्ब रकम उठाएको हो । बोलकबोल प्रक्रियामा १८ वटा बैंक तथा वित्तीय संस्थाबाट १५८ वटा आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । उसले १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेकोे हो ।

२०८० साल लागेसँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ४ पटकमा ६३ अर्ब २५ करोड रुपैयाँ उठाइसकेको छ । उक्त रकम बराबरको रिभर्स रिपो जारी गर्दा असार १९ गते २० अर्ब माग्दा बैंकहरुले २८ अर्ब ८० करोड रुपैयाँका लागि आवेदन दिएका थिए । असार १० गते राष्ट्र बैंकले अर्को २० अर्बको रिभर्स रिपो जारी गर्दा बैंकहरुले १४ अर्ब ७० करोड रुपैयाँको लागि आवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले १३ अर्ब २० करोड रुपैयाँ उठाएको थियो । असार ३ गते १० अर्ब माग्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ५ पटक बैंक तथा वित्तीय संस्थाबाट पैसा तानेको छ । उसले ७५ अर्ब माग गर्दा १ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँका लागि बैंक तथा वित्तीय संस्थाले आवेदन दिएका थिए । पछिल्लो आवेदनमा भने बैंकहरुले १ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई रकम लगिदिन ‘अफर’ गरेको राष्ट्र बैंकले जनाएको छ ।

अन्तरबैंक कारोबारमा भारित औसत व्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढीले माथि भएमा रिपो र तल भएमा रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हाल नीतिगतदर ७ प्रतिशत छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो । यसमा बैंक तथा वित्तीय संस्थालाई निश्चित ब्याज तिर्ने गरी राष्ट्र बैंकले तोकिएको रकम ती संस्थाबाट सापटी लिने गर्छ । जसले गर्दा बैंकिङ प्रणालीको तरलतामा कमी आउँछ ।

अहिले बैंकिङ प्रणालीमा साढे ३ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तर, बैंकहरुले पछिल्लो समय व्यक्ति तथा संस्थालाई भन्दा राष्ट्र बैंकलाई ऋण दिन सहज मानिरहेका छन् । सर्वसाधारणले बैंकमा ऋण लिन जाँदा अहिले पनि सहज पाउने अवस्था छैन । बैंकहरु ऋण लगानीभन्दा पनि भएको लगानी उठाएर खराब कर्जा कम गर्ने पक्षमा देखिएका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकको तथ्यांकमा छ । यसमा २१ वटा वाणिज्य बैंकको मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यस्तै हालसम्म ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको देखिन्छ । कर्जा लगानीमा पनि वाणिज्य बैंककै हिस्सा बढी छ । निक्षेप ज्यादा थुप्रन थालेपछि अन्तरबैंक कारोबार पनि ठप्प छ । अहिले अन्तरबैंक हुने कारोबारको ब्याजदर पनि १.३६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । कुनै बेला ८ प्रतिशत ब्याजदरसम्ममा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर