नेपाल-भारतका पत्रकारसँग महासंघका अध्यक्ष ढकालले भने : केबलकार सर्किटबाट पर्यटनमा नयाँ आयाम आउँछ – Nepal Press

नेपाल-भारतका पत्रकारसँग महासंघका अध्यक्ष ढकालले भने : केबलकार सर्किटबाट पर्यटनमा नयाँ आयाम आउँछ

रुपन्देही । सबै प्रदेशमा केबलकार संचालनको योजना बनाएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किटबाट नै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने बताएका छन् ।

नेपाल र भारतका पत्रकारहरु जम्मा गरेर पाल्पाको बसन्तपुरमा लुम्बिनी केबलकार प्रालिले गरेको अन्तरसंवादमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किटजस्तै अब केबलकार सर्किट पनि पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुनसक्ने धारणा राखे ।

ढकालले नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे नेपाल र भारत दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउनसक्ने बताउँदै यस क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारहरुको पहल जरुरी भएको बताए ।

आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताए । नेपालमा सयौं हिल्स एरिया रहेका र त्यहाँ केबलकार लगायत पर्यटकीय पूर्वाधार बनाउनसके सय डेढ सय किलोमिटर दूरीमा रहेका भारतीय शहरहरुका नागरिक रमाउन आउने संभावना रहेको ढकालको भनाइ थियो ।

पर्यटन लगायतका क्षेत्रमा नेपाली र भारतीय पक्षको संयुक्त लगानी आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताएका छन् ।
लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए ।

अध्यक्ष ढकालले पर्यटन, जलविद्युत्, खानी र खनिज पदार्थ, कृषिजस्ता क्षेत्रहरुमा भारतीयसंग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औंल्याए ।

भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे ।

सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्यामध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शनका लागि नेपालीसंगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए ।

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो,एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पाँचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

बीबीसी हिन्दीका पत्रकार पवन शाहले बसन्तपुरमा जस्तै मिलेको भूगोल उत्तरी भारतमा भेटाउन धेरै टाढा जानुपर्ने, कामख्यादेवीको मन्दिर दर्शन पनि धेरै टाढा भएकाले भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य हुनसक्ने बताए । भारतीय पत्रकार आलोक जोशीले पर्यटन प्रवद्र्धनबाट नै समृद्धि खोज्न सकिने भएकाले दुवै देशको समन्वयमा अगाडि बढ्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसी लगायतले नेपाल र भारतबीच सरकारी स्तरसंगै नागरिकस्तरको सहकार्यबाट दुबै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *