सुनकोशी गाउँपालिकाको बजेट ५३ करोड ९९ लाख, कृषि र पशुपालनलाई पहिलो प्राथमिकता – Nepal Press

सुनकोशी गाउँपालिकाको बजेट ५३ करोड ९९ लाख, कृषि र पशुपालनलाई पहिलो प्राथमिकता

सिन्धुपाल्चोक । जिल्लास्थित सुनकोशी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित भएको छ । सुनकोशीले आगामी आर्थिक वर्षको लागि ५३ करोड ९९ लाख रुपैयाँको बजेट गाउँसभामा पेश गरेको थियो ।

असार १० गते भएको गाउँसभामा सुनकोशीकी उपाध्यक्ष कान्छी लामाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् । जुन बजेट दोस्रो गाउँसभाको तेस्रो बैठकबाट सर्वसम्मत पारित भएको हो ।

गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पेश गरेको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ । बजेट पारित भएसँगै गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

सुनकोशीले बजेटमा कृषि तथा पशुपालनलाई को प्रमुख प्राथमिकताका साथ जोड दिएको छ । कृषि तथा पशुपालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

‘स्थानीयलाई गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि र पशु क्षेत्रलाई विशेष जोड दिएका छौं’, उनले भने, ‘पशुपालनमा कृषकहरुलाई आकर्षित गर्न अनुदानको व्यवस्था गर्ने योजना बनाएका छौं ।’

गाउँपालिकाले वडा कार्यालयहरुसँग समपूरकमा योजना कार्यान्वयन गर्ने उद्देश्यले प्रत्येक वडालाई एउटा योजनामा १० लाख बजेट व्यवस्था गरेको छ । वडाले एउटा योजना छनोट गरेर त्यसमा १० लाख रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाले पनि म्याचिङ फण्डका रुपमा सोही बराबरको रकम थपिदिने नीति गाउँपालिकाले सुरु गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उत्कृष्ट उपभोक्ता समिति र कर्मचारी पुरस्कृत

सुनकोशीले चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट सबै वडाभर उत्कृष्ट उपभोक्ता समितिहरुलाई पुरस्कार र सम्मान गरेको छ । गाउँपालिकामा चालू आर्थिक वर्षमा ३१९ वटा योजना सञ्चालन भएका थिए । तीमध्ये गाउँपालिकाले तोकेको परिधमा रहेर काम गर्ने समितिलाई पुरस्कार र सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

उत्कृष्ट उपभोक्ता समितिको रुपमा कोटगाउँ महिला सामुदायिक भवन निर्माण उपभोक्ता समितिलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै वडागत रुपमा पनि उत्कृष्ट हुने उपभोक्ताहरुले जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

गाउँसभाको अवसरमा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी वीरबहादुर बोम्जनलाई नगद १० हजारसहित सम्मान गरिएको छ । गाउँपालिकाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत दुलालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर