राष्ट्र बैंकको प्रतिवेदन : विदेशी मुद्रा सञ्चिती करिब १५ खर्ब (प्रतिवेदनसहित) – Nepal Press

राष्ट्र बैंकको प्रतिवेदन : विदेशी मुद्रा सञ्चिती करिब १५ खर्ब (प्रतिवेदनसहित)

काठमाडौ । नेपाल राष्ट्र बैंकले महंगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै जेठसम्म महंगी ६.८३ प्रतिशतमा झरेको देखाएको छ । जबकी बैशाख मसान्तसम्म ७.४१ प्रतिशत महंगी थियो ।

अघिल्लो वर्षको जेठ महिनाकै महंगीको अवस्थालाई तुलना गर्दा पनि यो जेठमा महंगी निकै घटेको छ । अघिल्लो महिना यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।

अहिले खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
यस्तै रेमिट्यान्स आप्रवाहमा पनि उत्साह देखिएको छ ।

११ महिनामै ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयााले रेमिट्यान्स नेपाल आएको छ । यो २२.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो ।

यता विदेशी मुद्रा सञ्चिती पनि करिब १५ खर्ब नजिक पुगेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेर जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १८.५ प्रतिशतले वढेर ११ अर्ब ३० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर