०८४ मा बहुमतसाथ आउँछौँ, भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : रवि लामिछाने – Nepal Press

०८४ मा बहुमतसाथ आउँछौँ, भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : रवि लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दाबी गरेका छन् ।

‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेको छ । सरकारले जति भ्रष्टहरूलाई समात्छ, हामीलाई त्यति नै फाइदा हुन्छ । २०८४ पछि हामी आइहाल्छौँ,’ पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमलाई शनिवार भैरहवामा सम्बोधन गर्दै लामिछानेले भने ।

आफ्नो पार्टीले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको उनले बताएका छन् ।

‘रास्वपा कुनै दलको पछाडि लाग्ने पार्टी होइनु, विगतको निर्वाचनमा भएभरका पार्टीहरू एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको हो, अब हाम्रो मिसन ०८४ हो, सरकार बनाउने कुनै गठबन्धनमा अहिले जाँदैन’ लामिछानेले भने ।

उनले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुहुँदैन भनेर रास्वपाले कहिले भन्यो भन्दै प्रश्न गरेका छन् ।

‘रास्वपा नागरिकता विधेयकको विरोधी हो भनेर भ्रम निर्माण गर्न खोजिएको छ, के कुरामा विरोध गर्ने र के कुरामा विरोध रास्वपा स्पष्ट रहेको छ ।’ उनले भनेका छन् ।

सभापति लामिछानेले मिटर ब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकसम्बन्धमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको बताए । उनले संसद् बैठकमा मिटरब्याज पीडितको आवाज बोल्न खोज्दा बोल्न नपाएको र आगामी बैठकमा बोल्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतको सहयोग रहेको भन्ने अभिव्यक्तिबारे भन्नेबारे रास्वपाले जवाफ माग्ने लामिछानेले बताए । उनले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए ।

उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आम नागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।

राम्रा, योग्य, अनुशासित नेता कार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृ संस्था खारेज गरेर देखाउन चुनौती दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर