पोखराबाट तत्कालीन लेखनाथ नगरपालिका टुक्र्याउन हस्ताक्षर संकलन – Nepal Press

पोखराबाट तत्कालीन लेखनाथ नगरपालिका टुक्र्याउन हस्ताक्षर संकलन

पोखरा । लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा आयोजित समारोहबीच बुधबारदेखि हस्ताक्षर अभियान सुरु भएको हो ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैँपछि पारेकोले साविकको लेखनाथ पुनर्स्थापनाको मागसहित अभियान अघि बढेको एक अभियन्ता सन्दीप पौडेलले बताए ।

पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटक–पटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथबासीको गुनासो छ ।

पहिलो दिन ५ सयभन्दा बढीको हस्ताक्षर संकलन भएको पौडेलले बताए । यो अभियान ३ महिना चल्नेछ । हप्तामा १ दिन लेखनाथको चोकचोकमा हस्ताक्षर संकलन गरिने उनको भनाइ छ ।

‘लेखनाथ छुट्याउन बुधबारदेखि हस्ताक्षर अभियान सुरु गरेका हौं, हप्तामा १ दिन हस्ताक्षर अभियान चलाउँछौं, १ लाख हस्ताक्षर पुर्याउने लक्ष्य छ’, पौडेलले भने ।

अभियानबाट लेखनाथबासीको १ लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने उनीहरूको योजना छ । यसअघि पनि पटक–पटक लेखनाथलाई छुट्टै पालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका पौडेलले बताए ।

विगतमा भरतपोखरी सिंगो गाविस थियो । वडा ३३ मा अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो । लेखनाथ क्षेत्रको छिमेकी रुपा गाउँपालिकाको वर्षेनि ठूलो परिणामको बजेट पेस गर्दा लेखनाथलाई पोखरा महानगरले ओझेल पारेको भन्दै टुक्रिनुपर्ने लेखनाथवासीको माग छ ।

विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले सुनाए ।

महानगर भइसकेपछि जुनरुपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको उनको भनाइ छ । लेखनाथबासीले विगतका फोरमहरुमा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।

१८ वटा वडा रहेको लेखनाथ नगरपालिका पोखरा महानगरमा गाभिँदा हाल पोखराका ८ वटा वडा त्यसअन्तर्गत पर्दछन् । २०५८ सालमा स्थापना भएको लेखनाथ नगरपालिकाका पहिलो नगर प्रमुख शालिकराम पौडेल हुन् ।

देशकै सबैभन्दा ठूलो क्षेत्रफल रहेको पोखरा महानगर ४६४.२४ वर्ग किमीमा फैलिएको छ । यहाँ हाल ३३ वटा वडा छन् । लेखनाथ पोखरामा गाभिएर ‘पोखरा लेखनाथ महानगरपालिका’ बनेसँगै २०७३ फागुन २७ मा ‘पोखरा महानगर’ घोषणा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *