स्वीकृति नलिइ लिजमा दिइएको काठमाडौंको जग्गामा नक्सा पास र संरचना बनाउन दिइँदैन : बालेन – Nepal Press

स्वीकृति नलिइ लिजमा दिइएको काठमाडौंको जग्गामा नक्सा पास र संरचना बनाउन दिइँदैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरभित्रका सरकारी जग्गा कुनैपनि स्वार्थ सिद्ध हुनेगरी लिजमा लिनेदिने कार्य नगर्न सूचना जारी गरेका छन् ।

उनले महानगर मातहतका जग्गा महानगरसँग समन्वय नगरी कार्यपालिकाको निर्णयसहितको सिफारिस नलिई लिजमा लिनेदिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सञ्जालमार्फत सूचना जारी गरेका हुन् । त्यस्तो जग्गामा महानगरले नक्सा पास नगर्ने तथा भौतिक संरचना बनाउन पनि स्वीकृति नदिने मेयर बालेनले स्पष्ट पारेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको उल्लेख गर्दै बालेनले महानगर कार्यपालिकाको निर्णयसहितको सिफारिसमा मात्र संघीय सरकारले लिजमा दिने सक्ने बताएका छन् ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारवाहीलाई काठमाडौं महानगरपालिकाले उच्च प्राथमिकता दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनले प्रचलित कानून प्रतिकूल भएको लिज सम्बन्धी निर्णय वा त्यसका आधारमा गरिने लिज सम्झौताले कानूनी मान्यता नपाउने उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्न नहुन सरोकारवालालाई सबैलाई सूचित गरेका छन् ।

‘काठमाडौं महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पास नगरिने तथा भौतिक संरचना बनाउन स्वीकृती नदिइने कुरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ’, जारी सूचनामा उल्लेख छ ।

यस्ताे छ महानगरकाे सूचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *