लुम्बिनीका सांसदहरुको प्रश्न : मुख्यमन्त्री तथा अन्य मन्त्रालयमा राखिएको बजेट कसलाई पोस्न हो ? – Nepal Press

लुम्बिनीका सांसदहरुको प्रश्न : मुख्यमन्त्री तथा अन्य मन्त्रालयमा राखिएको बजेट कसलाई पोस्न हो ?

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा सबै मन्त्रालयमा शिर्षक नखुलाएका डल्ला बजेटका विषयमा सांसदहरुले मुख्यमन्त्री तथा अर्थमन्त्रीलाई गम्भीर प्रश्न उठाएका छन् ।

दोस्रो अधिवेशनको सत्रौं बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका १५ सांसदहरुले यस्तो प्रश्न उठाएका हुन् ।

विपक्षी दलले लगातार अवरोध गरेपछि मंगलबार राती भएको सहमतिमा बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुलाई विशेष समयमा बोल्न दिने भनिएकोमा बुधबारको सदनमा उनीहरु मात्रै बोलेका थिए ।

सांसदहरुले सदनलाई मुख्यमन्त्री डिल्ली चौधरीले वेवास्ता गरेकोदेखि बजेटमा सांसदहरुका योजना काटेर अन्य व्यक्तिले पठाएका योजनाहरु समेटेको, क्रमागत योजनामा बजेट रोकेर नयाँ योजनामा बजेट हालेको, मुख्यमन्त्री र मन्त्री भएको जिल्लामा अरबौं बजेट राख्दा अन्य जिल्लामा वास्ता नगरिएको लगायतका गम्भीर विषयहरु उठाएका छन् ।

बैठकको सुरुमै एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सांसदहरुका योजना काटेर अन्य व्यक्तिबाट गएको योजना कसरी परे भन्दै मुख्यमन्त्री तथा अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । उनले बजेटमा मुख्यमन्त्री तथा मन्त्री भएको जिल्ला र क्षेत्र हेरेर विनियोजन गरेको र क्रमागत योजनाको बजेट रोकेर कसका लागि राजनीति गर्न खोजेको भने ।

‘सरकार त १२ वटै जिल्लाका ५२ निर्वाचन क्षेत्रको होइन र ? हामी भएका ठाउँका तपाईका पार्टीलाई के जवाफ दिनुहुन्छ ? यस्तो पनि बजेट हुन्छ ? मुख्यमन्त्री तथा अन्य मन्त्रालयमा शिर्षक नखुलाएको किन ? रातो किताब किन छापेको त ?’ चौधरीले भने–‘ चालु भएका योजना रोकेर तपाईहरुले को माथि शासन गर्न खोज्दैहुनुहुन्छ र ।’

एमालेका सांसद भोजप्रसाद श्रेष्ठले क्रमागत योजनामा बजेट काटेर, गौरवका आयोजनाको बजेट काटेर ल्याइएको असन्तुलित बजेटले प्रदेशमाथि प्रश्न उठाएकालाई मलजल गरेको बताए ।

सांसद श्रेष्ठले प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पताल, बेलबास वेथरी सडक, चरङे–झुम्सा सडकमा न्युन बजेट राखेर अलपत्र पारेको भन्दै आपत्ति जनाएका थिए ।

कपिलवस्तुका सांसद गिरीधारीलाल न्यौपानेले सबै क्षेत्रका मतदाता सरकारको नजरमा नपरेको बजेट किताबले प्रश्ष्ट पारेका जनाए । ‘हामीलाई आश्चर्य लागेको छ, बजेटको तयारीका विषयमा कतै छलफल नै भएन, कुन क्षेत्रका कुन योजना प्राथमिकता हुन् भन्ने नै भएन, अनि बलियो नेता भएका ठाउँमा बजेटै बजेट अन्त शून्य बनाएर के गर्न खोजेको हो ?’

पाल्पाका सांसद खेमबहादुर सारुले आफूले पठाएका योजना काटेर उही ठाउँमा अन्य योजना कसरी परे भनेर प्रश्न गरेका थिए । गुल्मीका सांसद चिन्तामणी पाण्डेले स्थानीय सरकारसँग छलफल गरेर पठाएका योजना काटेर केही व्यक्ति विशेषका योजनालाई राखेर सरकारले आफूलाई गाउँमा फर्कन समेत अफ्ठेरो पारेको गुनासो गरे ।

पाल्पाका सांसद राजुप्रसाद श्रेष्ठले मन्त्रीका जिल्लामा बजेटको ओइरो लाग्ला आफ्ना क्षेत्रहरुमा सुनसान भएको बताए । ‘कार्यकर्ताले पठाएका योजना बजेटमा छन्, हामीले पठाएका छैनन्, हामी यहाँ भएको के अस्तित्व भयो, यसरी पनि बजेट पारदर्शी हुन्छ ?’, उनको प्रश्न थियो ।

सांसद विष्णु पन्थीले महत्वपूर्ण आयोजना र क्षेत्रहरुलाई शून्य बनाएर आएको बजेटले समृद्ध प्रदेशको कल्पना गर्न नसक्ने बताउँदै आफ्नो क्षेत्रमा रहेका योजना के आधारमा काटियो भन्दै जवाफ मागेका थिए । बुधबारको बैठकमा सांसद बसन्ती न्यौपानेले बजेटमा राख्न नसक्ने योजना मागेर आफूमाथि अन्याय गरेको बताइन् ।

सांसद अर्जुन केसीले नीति कार्यक्रम अनुसार बजेट नआएको भन्दै बजेटमा आएको राजश्व लक्ष्य कुनै हालतमा पूरा हुनसक्ने आधार नभएको बताए ।

त्यसैगरी, सांसदहरु नवराज लामिछाने, डिल्लीराज भुसाल, रत्नबहादुर खत्री, रामजीप्रसाद घिमिरेले बजेटप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । बुधबार बोल्नै सबै सांसदहरु प्रमुख प्रतिपक्ष दलका रहेका थिए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै बजेटमा कुनै क्षेत्र तथा जिल्लालाई अन्याय नगरिएको र बजेट कम भएका कारण केही योजना काटिएको बताए । उनले डल्लो बजेट संसदहरुले नै पठाएका योजनामा रहेको र केही मन्त्रालयमा रहेकाले त्यसको पारदर्शीरुपमा विनियोजन गर्ने बताए । सभामुख तुलाराम घर्तीले आजै राती अर्को बैठक बोलाएर बजेटलाई अगाडि बढाउने जनाएका छन् ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर