टेस्ट राष्ट्रविरुद्ध नेपालः सुरूमा टक्कर, अन्त्यमा ठक्कर – Nepal Press

टेस्ट राष्ट्रविरुद्ध नेपालः सुरूमा टक्कर, अन्त्यमा ठक्कर

आयरल्यान्डविरुद्धको खेलमा कसरी फुस्कियो नेपालको पकड ?

काठमाडौं । नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटको मुलधारमा आफ्नो स्तर जाँच्ने एउटा अवसर थियो, जिम्बाबेमा आयोजित विश्वकप क्वालिफायर । त्यहाँ नेपालले खेलेका ६ म्याचमध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध थिए ।

समग्रमा नेपालले दुई जित र चार हार प्राप्त गर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो । सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालका लागि यो सुखद नतिजा होइन । यद्यपि, प्रतियोगिताका विभिन्न क्षणहरूमा नेपालले केही गर्व गर्न लायक प्रदर्शनहरू पनि गरेको छ । खेलाडीहरूले व्यक्तिगतरूपमा आफ्नो क्षमताका झलकहरू दिएका छन् ।

प्रतियोगिताको उद्घाटन म्याचमा नै घरेलु टोली जिम्बाबेविरुद्ध नेपाल भिडेको थियो । उक्त म्याचमा नेपालका ओपनरहरूले जसरी सुरूवात गरे, त्यो आफैंमा अविस्मरणीय रह्यो । कुशल भुर्तेल र आसिफ शेख जिम्बाबेका बलरहरूमाथि अनपेक्षितरूपमा हावी भएका थिए । उनीहरूको ब्याटिङ हेर्दा नेपाली समर्थकहरूको महत्वाकांक्षा ह्वात्तै चुलिएको थियो ।

खासगरी भुर्तेलले जिम्बाबेका बलरहरूलाई हराबरा खेलाए । उनी ऐतिहासिक शतक बनाउन भने चुके । ९९ सय रनमा आउट हुनुअघि उनले २ छक्का र १३ चौका वर्षाएका थिए । पहिलो विकेटका लागि नेपालले १७१ रनको विशाल साझेदारी गर् । यो कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको राष्ट्रिय कीर्तिमान थियो ।

यो म्याचमा नेपाल सहजै ३ सय रन कटाउने दिशामा थियो । तर तल्लो क्रमका ब्याट्सम्यानहरू लगातार आउट भएपछि नेपाल २९० रनमा समेटिन पुग्यो । यदि ३१० भन्दा माथिको स्कोर बनाएको भए जिम्बाबे पक्कै दबाबमा पर्ने थियो । ब्याटिङमैत्री पीचमा जिम्बाबेका लागि २९१ रनको लक्ष्य ठूलो भएन । जिम्बाबेविरुद्ध नेपालका बलरहरूले पनि अपेक्षित प्रदर्शन गर्न सकेनन् । सन्दीप लामिछाने नचल्दा त्यसको असर नेपालको सिंगो बलिङमा पर्‍यो । जिम्बाबेले २ विकेटमै लक्ष्य भेट्टायो ।

टेस्ट मान्यताप्राप्त नेपालको दोस्रो प्रतिद्वन्द्वी थियो वेस्ट इन्डिज । विश्व क्रिकेटमा शक्ति राष्ट्र कहलाए पनि अहिलेको वेस्ट इन्डियन टीम खासै गतिलो भने छैन । भेट्रान खेलाडीहरू अन्तर्राष्ट्रिय लिग खेलेर बस्छन्, राष्ट्रिय टिमबाट खेल्दैनन् । यद्यपि, हिङ नभए पनि हिङ बाँधेको टालो वेस्ट इन्डिजसँग छ । टिममा केही राम्रा ब्याट्सम्यानहरू छन् । बलिङ भने मामुली छ वेस्ट इन्डिजको ।

जिम्बाबेविरुद्ध जस्तै वेस्ट इन्डिजविरुद्ध पनि नेपालले उत्कृष्ट सुरूवात गरेको हो । यसपालि चाहीँ बलिङबाट । नेपालले ९ रनमा वेस्ट इन्डिजका दुई विकेट चट्काएको थियो । १० ओभरसम्मको खेलमा वेस्ट इन्डिजमाथि नेपालका बलरहरू हावी भइरहेका थिए । १५.३ ओभरमा तेस्रो विकेटका रूपमा ब्रान्डेन किङलाई गुमाउँदा वेस्ट इन्डिजको स्कोर थियो केवल ५५ रन । तर, जब निकोलस पुरन क्रिजमा आए, सबैथोक बदलियो ।

पुरनलाई ३ रनको अवस्थामा आसिफ शेखले क्याच छुटाउनु नेपालको दुर्भाग्य बन्यो । यदि त्यो क्याच लिएको भए खेलको दिशा र दशा अर्कै हुन सक्थ्यो । जीवनदान पाएका पुरनले खतरनाक रूप धारण गरे । कप्तान साइ होपसँग उनको २१६ रनको म्याराथन साझेदारी भयो र खेल नेपालको पकडबाट फुस्कियो । वेस्ट इन्डिजले ३३९ रनको भिमकाय स्कोर खडा गर्‍यो ।

दोस्रो ब्याटिङमा नेपालले २३ रनमा दुई विकेट गुमाएपछि खेलमा फर्किन सकेन । यद्यपि आरिफ शेख र गुल्शन झाले टिमलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन मद्दत गरे । आरिफले ६३ रन र गुल्शनले ४२ रन बनाएका थिए । दुई बल फ्याक्न बाँकी छँदा नेपाल २३८ रनमा अलआउट भयो ।

समूह चरणमा नेदरल्यान्ड्सविरुद्ध नेपालले लज्जास्पद हार व्यहोर्‍यो । नेपालका लागि जिम्बाबे र वेस्ट इन्डिजभन्दा कठिन प्रतिद्वन्द्वी सावित भयो नेदरल्यान्ड्स । जित्नै पर्ने निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध न नेपालको ब्याटिङ चल्यो न बलिङ । नेपाल १६८ रनमा अलआउट भयो । नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७ ओभरमै लक्ष्य भेट्टायो ।

नेदरल्यान्डसँग पराजयपछि नेपालको विश्वकप सपना भूईंमा पछारियो । त्यसपछि नेपालले सातौं र आठौं स्थानका लागि अर्को समूहका पराजित टीमहरूसँग दुई म्याच खेल्यो । जसमध्ये चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध नेपालले रोमाञ्चक जित हासिल गर्‍यो । उक्त म्याचमा दीपेन्द्रसिंह ऐरीले नेपालको उद्धार गरे । तर, आयरल्यान्डविरुद्ध साँघुरो हार स्वीकार्न बाध्य भयो ।

आयरल्यान्ड पनि टेस्ट मान्यताप्राप्त टोली हो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २६८ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भएको थियो । १६९ रनमा सात विकेट गुमाएर संघर्षरत नेपाललाई पछिल्लो क्रमका ब्याट्सम्यानद्वय गुल्शन झा र सन्दीप लामिछानेले उकासेका थिए । उनीहरूबीच आक्रमक गतिमा ८० रनको साझेदारी हुँदा नेपालको आशा जागेको थियो ।

बलिङमा पनि नेपालले आयरल्यान्डलाई निरन्तर दबाबमा राख्न सफल भएको हो । तर, कप्तान रोहित पौडेलले बलिङ परिवर्तनमा केही त्रुटि गरे, जसले गर्दा अन्तिम समयमा खेल नेपालको पकडबाट फुस्कियो । दीपेन्द्रसिंह ऐरीलाई २९ ओभरसम्म बलिङमा नउतार्नु र महंगो सावित हुँदा हुँदै पनि कुशल मल्ललाई ५ ओभर बलिङ गराउनु नेपालका लागि भारी पर्‍यो । अघिल्ला म्याचहरूमा पनि ऐरीलाई ‘अन्डर युज’ गर्दैं आएका पौडेलले हिजो पनि त्यही गल्ति दोहोर्‍याए । नेपालले जित्न सक्ने म्याच अन्तिम समयमा दुई विकेटले गुमायो ।

समग्रमा नेपालका लागि सोचेजस्तो भएन यो प्रतियोगिता । तर, पनि यसले टीमलाई दीर्घकालमा धेरै फाइदा पुग्ने छ । सबैभन्दा ठूलो फाइदा भनेको टेस्ट राष्ट्रहरूलाई पनि टक्कर दिन सकिन्छ भन्ने आत्मविश्वास हो । टेस्ट राष्ट्रको हाउगुजी केही हदसम्म हटेको छ । नेपालका ब्याट्सम्यान र बलर दुवै यो लेभलका लागि ‘क्यापेबल’ छन् भन्ने पुष्टि छ । तर, यो अझै राम्रो हुन सक्थ्यो । कम्तीमा एउटा टेष्ट राष्ट्रलाई हराएर आएको भए नेपालले विश्व क्रिकेट जगतमा गतिलो सन्देश दिन सक्थ्यो ।

जिम्बाबेमा नेपालको एउटा कमजोरी एक्सपोज भयो । नेपालका ब्याट्सम्यानहरूले स्तरीय फास्ट बलिङमा संघर्ष गरे । खासगरी सर्टपीच बलमा नेपालले बग्रेल्ति विकेट गुमायो । यो कमजोरीलाई सुधार गर्न आवश्यक छ ।

नेपालले चाँडै नै एसिया कपमा भारत र पाकिस्तानसँग भिड्दैछ । यो प्रतियोगिताको अनुभव पक्कै एसिया कपमा नेपालका लागि उपयोगी हुनेछ । जिम्बाबेको पिच भन्दा पाकिस्तान र श्रीलंकाको पीच नेपालका लागि अनुकुल हो । त्यसैले एसिया कपमा नेपालले कम्तिमा एउटा आश्चर्यजनक नतिजा निकाल्यो भने कुनै आश्चर्य हुने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर