कोटा थप प्रस्तावको पत्र देखाएर विद्यार्थी झुक्क्याउँदै, कोटा भन्दा धेरै भर्ना गर्दै चक्रवर्ती ल कलेज – Nepal Press

कोटा थप प्रस्तावको पत्र देखाएर विद्यार्थी झुक्क्याउँदै, कोटा भन्दा धेरै भर्ना गर्दै चक्रवर्ती ल कलेज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनबाट चलेको चक्रवर्ती ल कलेजले कोटा थप प्रस्तावको पत्र देखाएर कोटा भन्दा धेरै विद्यार्थीहरू धमाधम भर्ना गरिरहेको छ ।

सन् २०१० मा सञ्चालनमा आएको कलेजले २०७६ मंसिर ३ गते पूर्वाञ्चल विश्वविद्यालयका कला/कानुन/शिक्षा शास्त्र संकायका तत्कालीन डिन डाक्टर शम्भुप्रसाद कोइरालाले रजिष्टारलाई लेखेको कोटा थप प्रस्तावको एक पत्र विद्यार्थीहरूलाई देखाउँदै एक सय कोटामात्रै भएको कलेजमा तीन सय बढी विद्यार्थी भर्ना गरिरहेको छ ।

पत्रमा भनिएको छ, ‘कोटा थपको प्रस्ताव समेत रजिष्टारबाटै कार्यकारीमा जाने हुनाले ३०० कोटा कायम गरी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन चक्रवर्ती हबि एजुकेसन एकेडेमी (कलेज अफ ल)लाई जानकारी गराइन्छ ।’

यसरी कोटा थपको प्रस्तावको एक प्रक्रिया मात्रै अगाडि बढिरहँदा चक्रवर्ती कलेजले भने कोटै थपिएको जस्तो गरेर धमाधम विद्यार्थीहरू भर्ना गरिरहेको छ ।

अहिले विद्यार्थी आन्दोलन भएसँगै भर्ना स्थगन भए पनि विगतका वर्षहरूमा कलेजले जबरजस्त कोटा भन्दा धेरै भर्ना गरेको थियो ।

रजिष्टारले जबरजस्त गराएर पत्र लेखाएका हुन: डाक्टर कोइराला

२०७६ मंसिर ३ गते कोटा थपको प्रक्रियामा पत्र लेखेका तत्कालीन डिन तथा हाल अवकाश लिएका डाक्टर शम्भुप्रसाद कोइरालाले आफूले पत्र जबरजस्त लेख्नु परेको बताएका छन् ।

नेपाल प्रेससँग बोल्दै कोइरालाले भने, ‘कोटा थपको अधिकार डिनसँग हुँदै हुन्न । मैले कोटा थप्ने काम गर्ने होइन । मलाई रजिष्टारले पटक पटक दबाब दिएर पत्र लेखेको लेख्यै गरेकोले मैले कोटा थप गर्न पत्र लेखेको हुँ । कोटा थप्ने बेग्लै प्रक्रिया छ । कार्यकारी सभाले कोटा थप्ने हो ।’

तत्कालीन रजिष्टार डाक्टर निरोज पाण्डेले २०७३ कार्त्तिक १५ गते डिनलाई पत्र लेखेर कोटा थपको प्रस्ताव अगाडि बढाउन ताकेका गरेका थिए । उनले तीन सय कोटाको प्रक्रिया अगाडि बढाउन ताकेता गरेका थिए ।

१०० मात्रै कोटा भएको पत्र विश्वविद्यालयको ताकेता पत्र

२०८० जेठ ४ गते काठमाडौँ १० विजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजले पाएको आधिकारिक कोटा १०० मात्रै भएको भन्दै विश्वविद्यालयले पुनः पत्र लेखेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले एक पत्र लेखेर कोटाबारोमा अवगत गराएका छन् । हमालको पत्रमा एक सय मात्रै कोटा भएकोमा २८८ जनाको नाम रजिस्ट्रेसन फारमहरू आएको बताइएको छ ।

यो पनि पढ्नुहाेस्- चक्रवर्ती कलेजको शुल्कमा मनोमानी : अवैध कामको विरोध गर्दा विद्यार्थी निष्कासित

२०७८ मा २४० विद्यार्थी भर्ना गरेको कलेजले २०७९ मा २८८ भर्ना लिएको थियो ।

कोटा भन्दा धेरै विद्यार्थी भर्ना गरेको, प्रवेश परीक्षा, भर्ना देखी अन्य शुल्कमा मनोमानी लिएको लगायतका मुद्दा लिएर विरोध गर्ने विद्यार्थीहरूलाई कलेजले निष्कासन गरेको थियो । निष्कासनमा पर्नेहरूमा नरेश धामी र आशुतोष यादव छन् ।

कलेजका सञ्चालक देवेन्द्र भण्डारीले झुटो सूचनाको आधारमा भएको विद्यार्थी भर्ना, मनोमानी शुल्क हुँदै विद्यार्थी निष्कासन देखी विश्वविद्यालयको ताकेताका बारेमा बुझ्न फोन गर्दा उठाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *