प्रहरी बचाउन जाँदा प्रहरीकै गोली खाएका, सरकारसँग सहयोग माग्दा तिरस्कार पाएका वीरेन्द्र – Nepal Press

प्रहरी बचाउन जाँदा प्रहरीकै गोली खाएका, सरकारसँग सहयोग माग्दा तिरस्कार पाएका वीरेन्द्र

१५ दिनदेखि माइतीघरमा आमरण अनसन बसिरहेका वीरेन्द्रका दुई माग- उपचार खर्च हेर, रोजगारी देऊ

काठमाडौं । वीरेन्द्र जैसी (२६) १५ दिनदेखि माइतीघरमा अनसनरत छन् ।

टाउकोमाथि सलाइन पानीका बोतलहरु झुण्डाएर एक्लै सुतिरहेका वीरेन्द्रको शरीरमा बल्झिरहने गोलीको घाउ छ । सात वर्षअघि राज्यले दिएको बन्दुकको गोली वीरेन्द्रको पेटबाट आन्द्रै चुटाएर निस्कियो । तर, अहिले गोलीले छाडेर गएको बिरामी र अशक्ततालाई माइतीघरको सडकमा विछ्याएर बसेका छन् ।

१९ वर्षको उमेरमा छातीमा गोली दाग्न पेस्तोलको व्यवस्था गर्न सक्ने राज्यले आफ्नो स्वास्थ्योपचार र रोजगारीको पनि व्यवस्था गर्न सक्छ भन्ने सधैं लागिरह्यो वीरेन्द्रलाई । यही भ्रम र उपचार खर्चको फाइल बोकेर सात वर्षदेखि सिंहदरबारदेखि गाउँपालिकासम्म, वडा कार्यालयदेखि गृह मन्त्रालयसम्म निरन्तर धाइरहे ।

तर, जहाँ पुगे, जहिल्यै खाली हात फर्किए । जहाँ पुगे, अपमान सहेर फर्किए । जहाँ पुगे, निराश भएर फर्किए । र, अहिले एक मुठी सास र बिरामी शरीरलाई माइतीघरको सडकमा राखेर आममान्छेलाई हेर्ने राज्यको नजरियालाई १५ दिनदेखि उदांगो पारिरहेका छन् ।

२०७३ साल फागुन १ गते कैलालीको जानकी गाउँपालिका- ८ मा रहेको जंगलमा प्रहरी र काठ तस्करबीच भिडन्त भएको थियो । गस्तीमा हिँडेको प्रहरी र काठ तस्करबीच झडप भएपछि गाउँलेसँग सहयोग माग्दै सिपाही गणेश सेट्टी वीरेन्द्रको गाउँमा पुगे ।

राति खाना खाएर सुत्न ठिक्क परेका वीरेन्द्रलगायत १५-२० जना गाउँले प्रहरीलाई सहयोग गर्न घटनास्थलतिर गए । घटनास्थलमै तस्कारको घेराभित्र परेका सई बृजलाल अधिकारी दुई राउण्ड गोली चलाएर भागिसकेका रहेछन् । भाग्दैगर्दा गाउँलेहरुलाई देखेपछि तस्कर ठानेर अधिकारीले गोली चलाए । त्यही गोली वीरेन्द्रको पेटमा लाग्यो ।

प्रहरीलाई साथ दिन पुगेका वीरेन्द्र प्रहरीकै गोली लागेर ढले । वीरेन्द्रलाई लागेको गोलीले सबैभन्दा पहिला उनको परिवारलाई पोल्यो । किनभने उनको सामान्य परिवारको जेठो छोरो वीरेन्द्र नै थिए । उनलाई उपचारका लागि काठमाडौं ल्याइयो । उपचारमा चार लाख खर्च भयो । धन्न उनी बाँचे ।

प्रहरीलाई जोगाउन जाँदा प्रहरीकै गोली लागेर ढलेपछि वीरेन्द्रको धेरैथोक परिवर्तन भयो । उनको दैनिकी बदलियो । काम गर्ने, पढ्ने तरिका बदलियो । महिनामा दुईपटक त चेकजाँच गर्न अस्पताल धाउनुपर्ने अवस्था आयो ।

उनलाई गोली लागेपछि जिल्लाकै दुई नेताले सहयोग गर्ने भनेर उद्घोष गरेका थिए । तर, त्यो उद्घोष पनि भाषणमै सीमित भयो ।

माइतीघरमा शिथिल बनिसकेका वीरेन्द्र विस्तारै बोल्छन्, ‘उहाँहरु (नेताहरु) घटना घटेपछि पब्लिसिटी पाउन मेरो प्रतिनिधि बनेर अगाडि आउनुभएको हो । पछि उहाँहरु माथिल्लो निकायमा पनि पुग्नुभयो । त्यसपछि माग्दा उहाँहरुले कुनै सहयोग गर्नुभएन ।’

आफू बिरामी भएपछि वीरेन्द्र सहयोग माग्न नपुगेको ठाउँ छैन । यो सात वर्षमा जति गृहमन्त्री आए, सबैलाई भेटेर आफ्नो व्यथा सुनाए । गृहमन्त्रीहरुले व्यथा सुने । वीरेन्द्रको मागलाई सम्बोधन गरिदिने आश्वासन पनि दिए ।

वीरेन्द्र भन्छन्, ‘राष्ट्रसेवक बचाउन जाँदा अहिले रोगी शरीरसँग बाँचेको छु । सबै गृहमन्त्रीलाई भेटें । तर, उहाँहरु मेरो मागसँग होइन, भ्रष्टाचारमा मात्रै लिप्त भइरहनुभयो ।’

वीरेन्द्रलाई लाग्छ आफ्ना मागहरु राज्यले सम्बोधन नै नगर्ने खालका छैनन् । उनको माग साधारण छ, बाँचुञ्जेल सरकारले उपचार खर्च हेरोस् र रोजगारीको व्यवस्था गरिदेओस् ।

अहिलेसम्म उपचारमा लागेको खर्च पनि आफैंले गरेका छन् ।

उनको दुःखेसो छ, यदि अहिले यसरी अवहेलना गरिरहँदा त्यसवेला आफूलाई गोली लागेको घटना गृह मन्त्रालयले लुकायो । प्रहरी प्रशासनले किन लुकायो ? नेपाल सरकारले किन लुकायो ? त्यो घटना लुकाउनुको खास कारण के हो ? वीरेन्द्रलाई अहिले जान्न मन छ ।

गोली लागेको एक वर्षपछि वीरेन्द्र पढ्न र काम गर्न काठमाडौं आएका थिए । अनेक ठाउँमा काम गरे । तर, अस्पताल गइरहनुपर्ने भएकाले कुनै पनि कामलाई निरन्तरता दिन सकेनन् । प्रधानमन्त्री कार्यालय धाए । गृह मन्त्रालय धाए । कहिले काठमाडौंबाट मन्त्रालयले जिल्ला पठाउँथे । कहिले वडा कार्यालय पठाउँथे, त कहिले गाउँपालिका पठाउँथे । काम हुने आशमा वीरेन्द्र पनि तोकिएका सबै ठाउँमा पुग्थे । तर, जहिल्यै रित्तो हात घर फर्कन्थे ।

‘मलाई त सरकारका कर्मचारीहरुले बहुला कुकुरलाई जसरी लखेटिरहे । कहिले कहाँ पठाए, कहिले कहाँ । अनि म आजित भएर अनसन बस्न बाध्य भएको हुँ’, वीरेन्द्र सुनाउँछन् ।

वीरेन्द्रका अनुसार एक पटक गृह मन्त्रालयका कर्मचारीहरुले त उनलाई उल्टै प्रश्न गरे, ‘किन गएको त बचाउन ? हामीलाई सोधेर बचाउन गएको हो ? मर्ने मान्छेलाई मर्न दिने हो ।’

उनी भन्छन्, ‘त्यसपछि म आक्रामक भएँ । म त मानवले गर्ने कर्तव्य निर्वाह गर्न गएको थिएँ । तर, म आवेगमा आइसकेपछि उहाँहरुले मलाई पास नै दिनुभएन । रोक्नुभयो ।’

राज्यको अपमान र घृणा सहँदासहँदा आजित भएपछि आफू अनसन बस्न बाध्य भएको वीरेन्द्रको भनाइ छ । उनी भन्छन्, ‘अब मेरा मागहरु पूरा नभएसम्म अनसन तोड्नेछैन । अहिलेसम्म मुकदर्शक बनेर बसेको मानव अधिकारवादी संस्थाहरु पनि मेरो माग र अवस्थाप्रति मौन छन्, यसमा चाहिँ मलाई झनै चित्त दुःखेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर