बैंकको नक्कली फेसबुक पेजको जालमा पर्दा खाताबाट १२ लाख गायब – Nepal Press

बैंकको नक्कली फेसबुक पेजको जालमा पर्दा खाताबाट १२ लाख गायब

काठमाडौं । बैंकको नक्कली फेसबुक चलाएर ठगी गिरोहले जापानमा काम गरिरहेकी एक नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ झ्वाम् पारेको छ ।

काठमाडौं प्रहरीका अनुसार पीडितले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा जम्मा भएको रकम हेर्न एप्लिकेसनको पासवर्ड बिर्सेपछि फेसबुकमा खोजी गरी राष्ट्रिय बाणिज्य बैंक उल्लेख भएको पेज र त्यहाँ उपलब्ध मोबाइल नम्बरमा सम्पर्क गरेकी थिइन् ।

त्यहाँ उपलब्ध भएको मोबाइल नम्बरमा सम्पर्क हुँदा आफू बैकको कर्मचारी भएको र समस्या समाधानका लागि फोटो र नागरिकताको प्रतिलिपि पठाउन आग्रह गरियाे । तर, भाइभरमा फोटो र नागरिकता पठाएर विवरण दिएपछि आफूलाई कर्मचारी बताउने ती व्यक्ती सम्पर्कबाहिर भएको पीडितको जाहेरीमा उल्लेख छ । त्यसपछि पिडितले नेपालमा रहेकी आफ्नी आमालाई बैंकमा पठाएकी थिइन् ।

तर, पिडितको बैंक खाताबाट विभिन्न तीनजना व्यक्तिको खातामा साढे १२ लाख रूपैयाँ पठाएको जानकारी पाएपछि गिरोहले ठगेको पत्ता लागेको थियो । प्रहरीका अनुसार पीडितको बैंक खाताबाट नबिल बैंकमा प्रकाश नेवारको नाममा रहेको खातामा ५ लाख, प्राइम कमर्सियल बैंकमा नेवारकै नाममा रहेको खातामा २ लाख ८० हजार, कुमारी बैंकमा नित्यानन्द आचार्यको नाममा रहेको खातामा २ लाख र कुमारी बैंकमा शेरसिंह थापा क्षेत्रीको नाममा रहेको खातामा २ लाख ४० हजार रूपैयाँ ट्रान्सफर भएको पाइएको थियो ।

प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीमा उनले फेसबुक पेजमा रहेको मोबाइल नम्बर आफ्नो नभएको तर पीडितको बैंक खाताबाट आफ्नो खातामा पैसा आएको स्वीकारेका छन् । उनले नित्यानन्दसँग चिनजान भएको र नेवारसँग एकपटक भेटेको पनि उल्लेख गरेका छन् । उनी कलङ्कीस्थित न्यु गन्डकी गेस्ट हाउस एन्ड खाजा घरका सञ्चालकसमेत हुन् ।

प्रहरीसँगको बयानमा आफ्नो गेस्ट हाउसमा नित्यानन्द ५ महिनासम्म बसेको र आफूलाई तिर्न बाँकी रहेको २ लाख ८० हजारमध्ये पीडितको खाताबाट २ लाख ४० हजार पठाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *