कस्तो छ सिन्धुपाल्चोकका स्थानीय तहको बजेट ? – Nepal Press

कस्तो छ सिन्धुपाल्चोकका स्थानीय तहको बजेट ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारले तोकिएको मितिमा नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । संविधानले सबै स्थानीय तहले असार १० भित्रै बजेट,नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्था गरेको छ ।

बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा अगाडि नै बजेट र नीति कार्यक्रम ल्याएका थिए भने अन्य स्थानीय सरकारले तोकिएको असार १० मा नै बजेट ल्याएका हुन् ।

भोटेकोशी, त्रिपुरा, लिसंखु पाखर, सुनकोशी, जुगल, इन्द्रावती, पाँचपोखरी, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिकाले नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

१२ मध्ये १० स्थानीय तहको बजेट नीति कार्यक्रम पारित भएपनि सुनकोशी र चौतारा साँगाचोकगढी नगरपालिकाको भने बजेट पास हुन बाँकी रहेको छ । संविधानमा व्यवस्था गरेको समयमा नै बजेट र नीति कार्यक्रम ल्याएको र असार भित्रै बजेट पास हुने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पनि नीति कार्यक्रम पारित भएपनि बजेट पास हुन बाँकी रहेको र असार भित्रै बजेट पनि पास हुने बताए ।

बजेट कम भएपछि वडाको सिलिङ घट्यो

स्थानीय सरकारहरूले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरणको अनुदान घटाएर पठाएपछि स्थानीय सरकारले वडामा दिने बजेट घटाएका छन् ।

स्थानीय सरकारले बाँडफाँड गर्न पाउने बजेट सबै स्थानीय सरकारलाई यो वर्ष कम भएको सुनकोशी गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत ताराप्रसाद निरौलाले जानकारी दिए ।

नगरपालिका बाहेक प्राय सबै स्थानीय तहले ३० लाखसम्मको सिलिङ वडालाई पठाएका छन् । गत वर्ष ८० देखि १ करोड सम्म बजेटको सिलिङ पाएपनि यो वर्ष घटेपछि वडाध्यक्षहरूलाई योजनाहरूमा बजेट बाँडफाँड गर्न निकै सकस परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *