दुर्गेशले ल्याए दलितको कथामा ‘साथी’, भिडिओमा बले र स्मारिकाको साथ – Nepal Press

दुर्गेशले ल्याए दलितको कथामा ‘साथी’, भिडिओमा बले र स्मारिकाको साथ

काठमाडौं । दलितको कथामा आधारित रहेर गायक दुर्गेश थापाले ‘साथी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको अडियो र भिडिओले दर्शकको मन जितिरहेको छ ।

आफ्नै रचना, संगीत र स्वरमा दुर्गेशले साथी गीत ल्याएका हुन् । भिडिओको निर्देशन पनि उनी आफैंले गरेका छन् । प्रायः हल्काफुल्का मनोरञ्जनात्मक गीत गाउने दुर्गेशले यस गीतमा गम्भीर सामाजिक मुद्दा उठान गरेका छन् ।

गीतको भिडिओमा दुर्गेशलाई कलाकार सागर लम्साल (बले), रवि गिरी, रीना ढकाल र टिकटकर तथा मोडल स्मारिका ढकालले साथ दिएका छन् ।

छुवाछूत प्रथाले निम्त्याएको समस्यालाई दुर्गेशले भिडिओमा उतारेका छन् । कथित माथिल्लो जातकाले तल्लो जातको व्यक्तिलाई गर्ने जातीय विभेद नै भिडिओको मूल सार हो । भिडिओमा दुर्गेशले ‘दुर्गे दमाई’को भूमिका निभाएका छन् ।

उनलाई साथ दिएका बले र स्मारिकालाई भने कथित माथिल्लो जातको भूमिकामा ढालिएको छ । भिडिओमा यी तीनजना मिल्ने साथीको रुपमा देखिएका छन् ।

दुर्गेशका साथी बले काजीका छोरा हुन् भने स्मारिकाले श्रवण शक्ति नभएकी युवतीको चरित्र निभाएकी छन् । काजीका रुपमा भने कलाकार रवि गिरी देखिएका छन् ।

श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडिओलाई उत्सव दाहालले खिचेका हुन् । दुई दिनअगाडि सार्वजनिक गरिएको यो गीत अहिले नेपालमा यूट्युब ट्रेन्डिङको १७औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर