२०८४ को निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्छ : सभापति लामिछाने (भिडिओ) – Nepal Press

२०८४ को निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्छ : सभापति लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए ।

‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गरे ।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरू बीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए । हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरूले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौचको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाई थियो ।

सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरूको बचाउमा लाग्न पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरूको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटक पटक दोहोर्‍याए ।

सभापति लामिछानेले भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिबद्धता समेत दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर