पुष्पकमलको काँधमा हिन्दू राज्यको बन्दुक ! – Nepal Press
विचार

पुष्पकमलको काँधमा हिन्दू राज्यको बन्दुक !

२०८० को जेठ लाग्नेबितिक्कै माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएर हिन्दू राष्ट्र र धर्मनिरपेक्ष राष्ट्रको विषयमा छलफल चलाउन आग्रह गरेका थिए । माओवादी केन्द्रका नेता शर्मा र अर्का नेतृ ईन्दु शर्माले दाहाललाई जेठ २ गते मंगलबार साँझ १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । त्यसमा हिन्दू राज्यका बारेमा जनमत संग्रह गर्ने माग रहेको छ ।

ज्ञापनपत्रको १२ नम्बर बुँदामा भनिएको छ- ‘राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्म निरपेक्षता वा हिन्दू राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस् !’

धर्म निरपेक्षको विषयमा आफूलाई परिवर्तनको अगुवा नै दाबी गर्ने माओवादीभित्रै यो प्रकारको माग उठ्नुलाई धेरैले आश्चर्यको रुपमा हेरेका थिए ।

अहिले माओवादी केन्द्र, कांग्रेस, एमालेलगायत दल शक्तिमा छन् । भोलि नयाँ शक्ति आउन थालेपछि हिन्दू राष्ट्रको मुद्दा बलियो हुने कारण छलफल अघि बढाउन पर्ने ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरुको मत रहेको थियो ।

यो बेलासम्म पाँच महिनाअघि प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाललाई छिमेकी देश भारतले औपचारिक भ्रमणको निम्तो दिएको थिएन । तर, नेपालका प्रधानमन्त्री भने भारतबाटै पहिलो औपचारिक भ्रमण गर्ने भनेर अन्य निम्ता पनि स्वीकारिरहेका थिएनन् ।

कट्टर हिन्दूवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुशी पार्न माओवादीभित्र हिन्दू राज्यका बारेमा लचकता छ भन्ने देखाउन केन्द्रीय सदस्यहरुबाट ज्ञापनपत्र तयार गरिएको त्यतिबेला चर्चा भएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि २०७९ पुसमा दाहालले पहिलो अन्तर्वार्ता नेपाली समाचार संस्थालाई नभई भारतीय च्यानललाई दिएका थिए । नयाँ दिल्ली खुशी पार्न नै बोआओ फोरम सम्मेलनमा सम्बोधन गर्ने निम्तो बेइजिङबाट आउँदा पनि उनी गएनन् ।

कट्टर हिन्दूवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुशी पार्न माओवादीभित्र हिन्दू राज्यका बारेमा लचकता छ भन्ने देखाउन केन्द्रीय सदस्यहरुबाट ज्ञापनपत्र तयार गरिएको त्यतिबेला चर्चा भएको थियो । संयोग मानौं, माओवादीभित्र हिन्दू राज्यको लागि जनमत संग्रहको माग भएको केही दिनमा नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुने खबर सार्वजनिक भयो । जेठ १७ मा प्रधानमन्त्री दाहाल भारत जाने समाचार ११ जेठमा आयो ।

संघीय संसदमा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने मिति तय भयो । तर, दाहाल बजेटअघि नै भारत जान चाहन्थे । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

त्यसो त अघिल्लो संसदमा छलफल भएको नागरिकतासम्बन्धी विधेयक बिहान मन्त्रिपरिषद्ले पास गरेर दिउँसो भारत जानुले पनि यो भ्रमणले केही संशय पैदा गरेको पक्कै हो । नागरिकतासम्बन्धी विधेयकमा भारतीय चासो रहेको र लामो समयसम्म औपचारिक भ्रमणका लागि भारतबाट निम्तो नआएको प्रसंगले नेपालका प्रधानमन्त्री दाहाल केही न केही कुरामा भारतीय प्रधानमन्त्री मोदीलाई खुशी पार्ने योजनामा रहेको स्पष्ट देखिन्छ । त्यसकारण पनि प्रधानमन्त्री दाहालले आफ्नो पार्टीभित्र हिन्दू राज्यका बारेमा बहस रहिरहेको देखाउने चाहना राखेको स्पष्ट हुन्छ ।

चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले मध्यप्रदेशको उज्जैनमा पुगेर पूजाअर्चना गरे । यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै महाकालेश्वर जान भनेका थिए । मोदीले पत्रकार सम्मेलनमा भनेका थिए- ‘प्रधानमन्त्री प्रचण्डजी, आप कल इन्दौर और धार्मिक शहर उज्जैनकी यात्रा करेंगे, मुझे विश्वास हे, आपकी उज्जैन यात्रा ऊर्जामयी होगी और पशुपतिनाथसे महाकालेश्वरकी यात्रामें आपको आध्यात्मिक अनुभूति भी होगी ।’

सामान्यतया कूटनीतिक सिद्धान्तअनुसार औपचारिक भ्रमणमा गएका देशका प्रमुख व्यक्ति सोही धर्मको पक्षमा नभएसम्म वस्त्र नै परिवर्तन गर्दैन । यसले पनि नेपालका प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीलाई खुशी पार्न जेसुकै गर्न तयार भएको स्पष्ट सन्देश दिन्छ ।

योसँगै भ्रमणको तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा पुगेर महाकालेश्वरको पूजाअर्चना गरेका थिए । त्यो पनि गेरुवस्त्र धारण गरेर । सामान्यतया कूटनीतिक सिद्धान्तअनुसार औपचारिक भ्रमणमा गएका देशका प्रमुख व्यक्ति सोही धर्मको पक्षमा नभएसम्म वस्त्र नै परिवर्तन गर्दैन । यसले पनि नेपालका प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीलाई खुशी पार्न जेसुकै गर्न तयार भएको स्पष्ट सन्देश दिन्छ ।

बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेर प्रधानमन्त्रीले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यस क्रममा बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तहरुलाई प्रवेश निषेध गरिएको थियो । गत पुस ११ गते तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका दाहालको पहिलो भारत भ्रमण थियो । जस क्रममा नेपाल-भारतबीच ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताका विषयमा पनि विभिन्न आलोचना आइरहेका छन् ।

योसँगै जेठको पहिलो हप्ता नै अमेरिकी संस्थाबाट एउटा प्रतिवेदन सार्वजनिक भएको समाचार आयो । जसमा नेपालीलाई भारतीय हिन्दूको आर्थिक सहयोग रहेको उल्लेख थियो । अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालको राजनीतिक वृत्तमा तरंग ल्याएको थियो । भारतीय जनता पार्टीसम्बद्ध धार्मिक समूहले नेपालका नेतालाई हिन्दू राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदन थियो । अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया तुरुन्तै सार्वजनिक गरेन ।

भाजपासहित भारतका अन्य हिन्दू समूहले नेपालका राजनीतिज्ञलाई हिन्दू राज्य पुनःस्थापित गर्न निरन्तर दबाब दिइरहेको पनि प्रतिवेदनमा उल्लेख छ । विभिन्न अनुसन्धान र समाचारमा आधारित भएर प्रतिवेदन तयार गरिएको अमेरिकी दाबी छ ।

माओवादीका केन्द्रीय सदस्यको हिन्दू राज्यका पक्षमा बहस, मृत भएको नागरिकता विधेयक भ्रमणको दिन पारित र औपचारिक भ्रमणकै बेला गेरु वस्त्र धारणले पनि अमेरिकी प्रतिवेदनलाई बल पुग्ने शंका उत्पन्न गराएको छ । अन्तिम सत्य सत्ता भन्ने बुझेका प्रधानमन्त्री दाहालले हिन्दू धर्मका बारेमा छलफल चलाएर दक्षिण खुशी पार्ने योजना बनाइरहेको केही भारतीय सञ्चारमाध्यमले अड्कल गरेका थिए । त्यो अड्कललाई सत्य सावित गर्ने माथिका केही उदाहरणले अमेरिकी प्रतिवेदनमा उल्लेख भए झैं भारतीय सहयोग थाप्नेमा माओवादी पनि हुने प्रशस्त आधार निर्माण गरेको छ । यो आधारलाई चिर्न सक्ने बलियो प्रमाण माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिन सकेका छैनन् ।

अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालको राजनीतिक वृत्तमा तरंग ल्याएको थियो । भारतीय जनता पार्टीसम्बद्ध धार्मिक समूहले नेपालका नेतालाई हिन्दू राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदन थियो ।

कम्युनिष्ट नेताको रवाफ देखाउने दाहाल समाजवादी मोर्चाको नेतृत्व गर्ने भन्दै मोर्चा निर्माणमा लागेका छन् । हँसिया हथौडा र माओवाद नै घाँडो मान्दै आएका बाबुराम, माधव नेपालसँग मोर्चा निर्माण गर्नु नै पुष्पकमल दाहालको दक्षिणपन्थी मार्गको हिँडाइ हो भन्नेमा कुनै शंका रहेन । त्यसो त आम भारतीयको चाहनामा कुठराघात हुने भन्दै त्यहाँको मन्दिरमा गेरु वस्त्र धारण गरेर पूजाअर्चना गरेको प्रतिक्रिया दिएका दाहालले नेपालमा पनि ८० प्रतिशतभन्दा धेरै हिन्दू धर्मको पक्षपाती रहेका कारण उनीहरुको मागको सम्बोधन गर्दै हिन्दू राज्यको पक्षमा लाग्नु परेका प्रतिक्रिया पनि आउने सम्भावना उतिक्कै देखिन्छ ।

धार्मिक साइनो जोड्दै

आरजु देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । नेपाली कांग्रेस अहिलेको सरकारको प्रमुख खम्बा हो । उनै आरुजुले धार्मिक साइनो जोडेर भारतीय नेताहरुसँग राखी बाँधेको खबर पुरानो होइन । त्यसो त आरजु भारतमै भएका बेला वर्तमान प्रधानमन्त्री पनि भारत पुगेर एकताको गाँठो बनाएको समाचार त्यतिबेलै छ्याप्छयाप्ती आएका थिए ।

शेरबहादुर देउवापत्नी एवं सांसद आरजु देउवाले प्रधानमन्त्री मोदीसँग पहुँच भएकै अनुमानमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग नजिकिनकै लागि राखी बाँधिदिएबाट यो प्रवृत्ति पुष्टि हुन्छ । उसै त नेपाली कम्युनिष्टहरु सरकार बाहिर रहँदा क्रान्तिकारी देखिन भारतविरोधी बन्छन्, सत्तामा पुग्नासाथ नयाँ दिल्लीको इसारामा चल्छन् भन्ने आरोप छ ।

अन्तिम सत्य सत्ता भन्ने बुझेका प्रधानमन्त्री दाहालले हिन्दू धर्मका बारेमा छलफल चलाएर दक्षिण खुशी पार्ने योजना बनाइरहेको केही भारतीय सञ्चारमाध्यमले अड्कल गरेका थिए ।

२०७७ फागुनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई चुनौती दिँदै माओवादी अध्यक्ष दाहालले अब छिमेकी देशलाई सहज हुने ‘कम्फर्टेबल गभर्मेन्ट’ बनाउनुपर्ने धारणा राखेका थिए । दाहालको नेकपा एमालेलाई हटाएर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रसहितको सरकार बनाउनुपर्ने सुझाव थियो । नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा पार्टी प्रमुख जेपी नाड्डाले दाहालको त्यो निष्ठा प्रदर्शनको पुरस्कार दिए, रातो कार्पेटमा स्वागत गरेर । र, आज नेपालमा त्यो ‘कम्फर्टेबल’ सरकारको शासन छ ।

प्रधानमन्त्रीमा भारतको रोजाइ अस्थिर दाहालभन्दा भरपर्दा देउवा ठानिए पनि पछिल्लो समय दाहालको लचकताका कारण उनको समर्थन गर्न इच्छुक देखियो भन्ने विश्लेषकहरु धेरै छन् । भारत अहिले हिन्दूत्वको प्रभाव विस्तारको योजनामा छ । सोहीअनुरुप नेपालमा पनि प्रभाव विस्तार उसको योजना हुने नै भयो । राप्रपा तथा अन्य नयाँ दल हिन्दू राज्यको पक्षमा विस्तारै खुल्दैछन् । त्यसकारण पनि दाहालले हिन्दू राज्यको छलफल चलाएर दक्षिण र कांग्रेस खुशी पार्ने योजना बनाइरहेका छन् ।

यी विभिन्न गतिविधिले नेपालमा हिन्दू राज्य फर्काउने कोसिस भएको अनुमान गर्न सकिन्छ । त्यसको नेतृत्व पुष्पकमल दाहालले गर्ने प्रशस्त सम्भावना छ । त्यसो भएमा दाहाल नेतृत्वको सरकार अझै टिक्न सक्ने भारतीय विश्लेषकहरु अनुमान गरिरहेका छन् । योसँगै जातैपिच्छेको राज्य बाँडेर सत्तामा पुगेका पुष्पकमल हिन्दू राज्यको भर्‍याङमा सत्तामा रहने गजबका पात्रका रुपमा इतिहासमा चित्रित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *