बालेनविरुद्ध श्रीमान भाष्कर ढुंगाना अदालत जानुअघि यसकारण आयो रेशुको राजीनामा – Nepal Press

बालेनविरुद्ध श्रीमान भाष्कर ढुंगाना अदालत जानुअघि यसकारण आयो रेशुको राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ ।

अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाको घोषणा गरेकी थिइन् । स्टाटसमा उनले स्पष्ट कारण नखुलाए पनि घुमाउरो संकेत भने गरेकी छन् । ‘स्वार्थको द्वन्द्व’ उत्पन्न भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ ।

रेशुले लेखेकी छन्, ‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर-परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’

महानगर स्रोतअनुसार रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेकी हुन् । आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी खिलाफमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । श्रीमान नै हलमालिक हुँदा उनलाई मेयरको निर्णयले नैतिक अप्ठेरोमा पारेको थियो ।

महानगरको कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगर स्रोत बताउँछ ।

‘मेयरज्यूले उहाँलाई आफ्नो श्रीमानलाई कन्भिन्स गर्न आग्रह गर्नुभएको हो । तर, उहाँले पदबाटै राजीनामा दिनुभयो,’ स्रोतले भन्यो ।

महानगरको कार्यपालिका वैठकले गत भदौमा रेशुलाई मेयरको अवैतनिक शिक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनी विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील छिन् । टिच फर नेपालको बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष समेत रहेकी उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट स्नातकोत्तर गरेकी छन् ।

रेशुले दक्षिण भारतीय चलचित्र आदिपुरुषको दृष्य र संवाद नै नहेरी हलमा प्रदर्शन रोकिएकोमा मेयरसँग विमति जनाएकी थिइन् । उनले मेयरलाई समेत व्यंग्य गर्दैै चार दिनअघि नेपाली जनताको साामाजिक चेतना हल्लाको भरम कुद्ने खालको रहेको भन्दै ट्वीट समेत गरेकी थिइन् ।

उनले भनेकी थिइन्- अहिले हाम्रो देशको प्राय जसो जनताको सामाजिक चेतना आयातोल्ला खोमेनीले सल्मान रुष्दीलाई एउटा उपन्यासमा अल्लाहको अपमान गर्यो भनेर फत्वा लगाउने इरानको जस्तो भएछ। लक्षण गम्भीर छन् । सतर्क हुनु पर्ने छ ।

 

 


प्रतिक्रिया

One thought on “बालेनविरुद्ध श्रीमान भाष्कर ढुंगाना अदालत जानुअघि यसकारण आयो रेशुको राजीनामा

  1. रेशु जि ले राजिनामा दियेकै राम्रो छ। आफ्नो स्वार्थ सिद्ध नहुदा पीर परेछ। आफ्नै बुडा हल मालिक रहेछ र फिल्म नचले आफ्नो नुक्सान हुन्छ भनेर दुखि रहेछन। राष्ट्र को चिन्ता रहेन रहेछ मैदम लाई। तेस्तो स्वार्थी र धनिमानि आईमाई को बालेन सर को पार्टी हुनु नुक्सान दायक छ।
    (RIP RESHU ARYAL)

Leave a Reply

Your email address will not be published. Required fields are marked *