सरकारले आलुप्याजमा लगाएको करबारे जनतालाई झुक्यायाे: डा.कोइराला – Nepal Press

सरकारले आलुप्याजमा लगाएको करबारे जनतालाई झुक्यायाे: डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलुप्याजमा लगाएको करबारे जनतालाई झुक्याइएको बताए ।

काठमाडौंमा सोमबार भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताएका हुन् ।

उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभई महँगो हुने दाबी गरे ।

नेता कोइरालाले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलुप्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताए ।

नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलुप्याजमा लगाएको कर तत्काल संशोधन गर्न उनले माग गरे ।

सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अहिले देशको कुरा गर्दा देशले बाटो बिराएको हो कि भन्ने आभास हुन्छ । लोकतन्त्र भन्नेबित्तिकै जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहीनताको अन्त्य भएन भने लोकतन्त्र सुदृढ हुन सक्दैन’, उनले भने, ‘हामी लोकतन्त्रका कुरा गर्छौं । नेपाली कांग्रेसमात्रै लोकतान्त्रिक पार्टी हो भनेर भनिरहेका छौं । तर, यो कुरामा खरो भएर नेपाली कांग्रेस उत्रन सकेन भने लोकतन्त्र सुदृढ हुन सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *