ऋण खोजेर विदेश पुगेका कुँवर दम्पतीको महत्वकांक्षी योजनाः ४० करोड लगानीमा क्रिकेट रंगशाला (भिडिओ) – Nepal Press

ऋण खोजेर विदेश पुगेका कुँवर दम्पतीको महत्वकांक्षी योजनाः ४० करोड लगानीमा क्रिकेट रंगशाला (भिडिओ)

रुपन्देही । ९ वर्षअघि अष्ट्रेलिया जाँदा ऋण सापटी गरेर गएका गुल्मीका विनोद कुँवरले अहिले सामाजिक क्षेत्रमा मन फुकाएर लगानी गर्न थालेका छन् । मध्यम परिवारमा जन्मेका विनोदलाई त्यो भन्दाअघि अध्ययनका समयमा पनि उस्तै आर्थिक संकट नपरेको होइन ।

संर्घष गरेर आईटी इन्जिनियर बनेका कुँवर गुल्मीबाट अध्ययनका लागि रुपन्देही आएर आफ्नो करियर बनाउन विदेश जानुपर्दाको समयका पीडा अहिले सम्झदा अहिले आश्चर्य लागेको बताउँछन् ।

एकल लगानीमा सानैदेखि क्रिकेट पारखी कुँवरले रुपन्देहीको तिलोत्तमामा २५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका छन् । यसलाई खेलका जानकारहरुले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् ।

तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा यस्तो रंगशाला बनाउन सुरु भएको हो । यो योजना बनाउन दरखसवाका ३१ जना किसानसँग उनले जग्गा खरिद गरेका हुन् ।

९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदिच्छा गौतमको लगानीमा बन्ने एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको गत  साता शिलान्यास भएको छ । सुरुमा उनले यो योजना सुनाउदा धेरैलाई विश्वास नै लागेको थिए । तर रफ्तारमा काम अगाडि बढाएर जग्गा खरिद गरेर फिल्डमै पुगेर काम गरेपछि बल्ल विश्वास लाग्न थाल्यो ।

कुँवरका अनुसार पहिलो वर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने उनले बताए । आफू क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको उनको भनाइ छ ।

चार तलाको भवनसहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र संचालनका लागि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन् । गौतम विनोदकी श्रीमती हुन् । दुवै जनाले अष्ट्रेलियामा आफ्नो व्यवसाय संचालन गरेका छन् । क्रिकेटका लागि कस्तो संरचना आवश्यक पर्छ भन्ने सबै बुझेको व्यक्ति भएकाले शक्तिलाई जिम्मेवारी दिएका हौं, बजेको व्यवस्थापन हामीले गर्छौं फिल्डको सबै व्यवस्थापन उहाँले हेर्नुहुन्छ– गौतमले भनिन् ।

एक वर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको र बाँकी काम चार वर्षमा पूरा हुने उनले बताइन् ।

कुँवरले आफूले कमाएको रकमबाट रुपन्देहीको तिलोत्तमा १७ दखरसवाका ३१ जना किसानबाट ५ विगाह जग्गा किनेर यस्तो मैदान बनाउन लागेका हुन् । ‘विदेशमा बसेपनि ४२ डिग्रीको तापक्रममा म आफै मैदानमा खटेर यो अवस्थामा ल्याएको छु, ५ वर्षमा जसरी पनि यसलाई पूरा गरेर छाड्नु, खेलप्रेमी, स्थानीय र सरकारको साथ पाइरहनेछु’, उनले भने ।

करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिगाहा जग्गा खरिद गरिसकेका छन् भने थप एक बिगाहा जग्गा खरिदको प्रक्रियामा छन् । उनले त्यहाँ सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट मैदानसँगै क्षमतावान क्रिकेट खेलाडी उत्पादन गर्न क्रिकेट एकेडेमीसमेत निर्माण गर्ने योजना बनाएका छन् ।

पूर्वक्रिकेटर शक्ति गौचनले जिल्लामा स्तरीय क्रिकेट मैदानको निर्माण आफ्नो पनि सपना भएको र उहाँहरुले दिएको जिम्मेवारी पूरा गर्ने आफ्नो पनि दायित्व भएको बताए । पछिल्लो समय नेपाल फर्किएर उनले रंगशाला निर्माणको कामलाई समेत गति दिएका छन् । अहिले परियोजना स्थलमा माटो भर्ने, क्रिकेट मैदानको ढाँचा तयार पार्ने, पिच निर्माण गर्नेजस्ता कार्य धमाधम भइरहेको छ ।

निजी क्षेत्रको लगानीमा नेपालका पहिलो पटक बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र क्रिकेट एकेडेमीको स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रका हस्ती र समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।

नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचन ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को भूमिकामा सक्रिय छन् । यसरी निर्माण हुने क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको छ । गौचनले जिल्लामा स्तरीय क्रिकेट मैदानको निर्माण आफ्नो पनि सपना भएको धारणा ब्यक्त गरे ।

‘अहिले म आफैँले पनि क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएको छु । तर, सधैं एउटा मैदानको आवश्यकता खड्किँदै आएको थियो । अब हामी सबैको त्यो सपना पूरा हुनेछ,’ ब्रान्ड एम्बासडर समेत रहेका शक्तिले भने ।

‘एक्स्ट्राटेक ओभल’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको क्युरेटरको जिम्मेबारी भने माधव पाठकले लिएका छन् । लामो समय यूएईमा बसेका माधवसँग अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा समेत क्युरेटरको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव छ ।

संघर्षबाट हरेस नखाएका विनोद, सामाजिक क्षेत्रमा लगानी गर्ने चाहना

जस्तै दुःख पर्दा पनि विनोदले हरेस खाएनन् । निरन्तर संघर्ष गरिरहे । संघर्षकै बीच विनोदले आफ्नो अध्ययन पूरा गरे । कोरोना महामारीको बेला उनले अस्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोले ।

अस्ट्रेलिया बसाइका क्रममा उनले नेपाललगायत तेस्रो विश्वबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीले भोग्नुपरेको समस्यालाई नजिकबाट बुझ्न पाएर एक्स्ट्राटेक ओभल स्थापनाको सोँच आयो । यही कम्पनीको सुरुवातसँगै विनोदको जीवनमा आर्थिक क्रान्तिले फड्को मारेको हो ।
आर्थिक सुदृढिकरणसँगै कर्मभूमिमा रहेर उनले जन्मभूमिका विभिन्न क्षेत्रमा लगानी गर्ने सोँच उनले अगाडि बढाएका हुन् ।

‘नेपाललगायत विभिन्न राष्ट्रबाट उच्च शिक्षा अध्ययनका लागि आउने युवाले अस्ट्रेलियामा अध्ययन पूरा गरेपछि पनि योग्यता अनुसारको काम पाइरहेका थिएनन् । म आफैँले पनि अध्ययन पूरा गरेपछि थुप्रै हण्डर खाएको थिएँ, त्यसैले अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीको क्षमता अभिबृद्धि गर्न र उनीहरुलाई योग्यता अनुरुपको काम दिलाउने प्रयासको प्रतिफल हो, एक्स्ट्राटेक ओभल यसबाट नै मैले आफ्नो करिअरलाई बलियो बनाउनसकेको हुँ ।’ विनोदले आफ्नो संघर्षबारे सुनाउँदै भन्छन् ।

‘एक्स्ट्राटेक ओभल’ ले छोटो समयमै राम्रो प्रगति ग¥यो । उनका लागि यो गतिलो आम्दानीको स्रोत पनि बन्न पुग्यो । पछिल्लो समय अस्ट्रेलियाकै सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेनलगायत विभिन्न ठूला सहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा पनि विस्तार गरे । यही नामबाट उनले नेपालमा लगानीको शुरुवात गरेका हुन् ।

क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी योजना र रुपन्देही नै छनौट गरेको विषयलाई उनले आफ्नो जीवनको संघर्षको शुरुवात भएको जिल्ला र रुपन्देही जिल्ला क्रिकेटको ‘हब’ भ’एकाले यहीँ सुरु गरेको बताउँछन् । ’गुल्मी जन्मेपनि म यहाँ पढेँ र आफ्नो जीवनको करियर सुरु गरेँ, यहीँ घर बनाएँ अनि यहीको विकासका लागि यो योजना छनौट गरेको हुँ ’ उनले भने ।

क्रिकेट भनेपछि हुरुक्कै हुने छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको छ रुपन्देही । अहिलेसम्म रुपन्देहीले सयौंको संख्यामा प्रभावशाली क्रिकेटर उत्पादन गरेर राष्ट्रलाई सुम्पिएको छ । त्यसकारण पनि यसको भविश्य बनाउन लगानी गरेको उनको भनाइ छ ।

रुपन्देहीबाट उत्पादन भएका थुप्रै क्रिकेटरले आफ्नो आक्रामक ब्याटिङ, धारिलो बलिङ र छरितो फिल्डिङले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको गौरव बढाएका छन् । रुपन्देहीबाट उदाएका राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाजस्ता धेरै प्रतिभाशाली क्रिकेटरले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा देशको गरिमा बढाउँदै आएका छन् । अब यस्तै धेरै व्यक्तिहरु उत्पादन गर्न, नियमित अभ्यास गर्न यो रंगशालाले योगदान गर्ने उनको भनाइ छ ।

आफ्ना क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहँदा देशभित्रै भने क्रिकेटको गतिलो भौतिक पूर्वाधारसम्म नभएको देखेर लगानी गरेको विनोद बताउँछन् । उनको यो अभियानका लागि उनले आफ्नी श्रीमती सुदिक्षा गौतमबाट पनि गतिलो साथ पाएका छन् । त्यसैले त ‘एक्स्ट्राटेक ओभल’ परियोजनाको चिफ अपरेटिङ अफिसर (सीओओ) को भूमिकामा सक्रिय छन्, सुदिक्षा ।

‘हामीले भनेकै समयमा यो रंगशाला बनाएर चलाउँछौं, लगानीको वार्षिक योजनाअनुसार नै रकम जुटाउँछौं, दुवै जनाले कमाएको रकमबाट लगानी थालेका हौं, यो योजनामा कसैको नगदी साथ लिँदैनौं, जग्गा व्यवस्थापन गरेर काम थालिसकेका छौं– गौतमले सुनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *