हपहपी गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित, रुपन्देहीमा ४२ डिग्री पुग्यो – Nepal Press

हपहपी गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित, रुपन्देहीमा ४२ डिग्री पुग्यो

रुपन्देही । पश्चिम तराईमा केही दिनयता दिनहुँ बढेको गर्मीले जनजीवन प्रभावित भएको छ । बढ्दो गर्मीसँगै चलेको तातो हावाले जनजीवन थप कष्टकर बनेको हो ।

लुम्बिनी प्रदेशमा रहेका ६ तराईका जिल्लामध्ये पश्चिमनवलपरासी, रुपन्देही र कपिलवस्तु आसपासमा अन्य क्षेत्रमा भन्दा बढी तापक्रम रहेको छ । बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो भने बाँकेको नेपालगञ्जमा ४१, र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको थियो । आज रुपन्देहीकाे तापक्रम  ४२ डिग्री सेल्सियस मापन भएको छ ।

उच्च तापमान र बढ्दो गर्मीका कारण बजार तथा ग्रामीण क्षेत्र सुनसान भने स्थानीयको दैनिकी प्रभावित बनेको छ । खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ ।

बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षीसमेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको र अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाजसमेत प्रभावित विभिन्न क्षेत्रका स्थानीयले सामाजिक सञ्जालमा सूचना राखिरहेका छन् ।

बढ्दो गर्मीका कारण अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । स्वास्थ्यकर्मीका अनुसार अधिकांश झाडापखाला, बान्ता, आउँ एलर्जी, अपच, जन्डिस, श्वासप्रश्वास र भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान स्वास्थ्यकर्मीको सुझाव छ ।

अत्यधिक गर्मी र तातो हावाले वायु प्रदूषण हुने र त्यसले बालबालिका, वृद्धवृद्धालगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पुर्‍याउने डा. सागर न्यौपाने बताउँछन् ।

तराई–मधेस तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रुपन्देहीका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनजस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । यस्तो गर्मीमा अत्यावश्यक काममाबाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन उनको सुझाव छ ।

गर्मी बढेर घरमै बसेका सर्वसाधारण विद्युत् प्राधिकरणले बिनासूचना पटक पटक गर्ने विद्युत कटौतीका कारण थप हैरानीमा छन् । दिनरातमा दर्जनौपटक विजुली काटिदा समस्या परेको तर यसकोे कुनै जवाफ नपाएको उनीहरुको गुनासो छ ।

सटक पटक गरिने विद्युत कटौतीले सर्वसाधारणको दैनिक अझै कष्टकर बन्यो, बिनासूचना यसरी लाइन काटिपनि नियामक निकाय मौन छ, कति क्षमता छ, आवश्यकता कति हो, के कारणले यस्तो भएको हो भन्ने विषय आमनागरिकलाई प्रष्ट पार्नुपर्दछ– उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य ऋषि आजाद भन्छन् ।

पटक पटक बिना सूचना गरिने विद्युत कटौतीले उद्योगीहरु मारमा परेको जनाएका छन् । लाइनको टुंगो नभएकाले धेरै उद्योगीले आफ्ना उत्पादन बन्द गर्नुपरेको बताएका छन् । उद्योगी तुल्सी गुरुङले यसरी गरिने विद्यात कटौतीले उत्पादन बन्द मात्रै होइन धेरै मेशिनरी सामानहरु ध्यवस्त बनाएको बताउँछन् ।

छिनछिनमा गरिने विद्युत कटौतीले कामदार कसरी लगाउने चिन्ता भयो, सूचना माग्दा यथार्थ सूचना पनि दिइदैन अनि कसरी काम गर्ने रु उत्पादन गर्ने रु त्यसमाथि झ्याप्प झ्याप्प लाइन काटिदा मेशिनरी सामान बिग्रेर ध्वस्त भए, यसको क्षतिपूति कसले दिने ? ’ उनले प्रश्न गरेका छन् । विद्युत प्राधिकरणले भने भोल्टेजमा आएको गढबढीले यस्तो समस्या आइरहेको तयारी जवाफ दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर