समाजवादी मोर्चाबारे प्रचण्डसँग छलफलपछि बाबुरामले भने- बाहिर चलेका हल्लाको पछि नलाग्नू – Nepal Press

समाजवादी मोर्चाबारे प्रचण्डसँग छलफलपछि बाबुरामले भने- बाहिर चलेका हल्लाको पछि नलाग्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराई समाजवादी मोर्चाको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भएको बताए ।
देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ ।

उनले भने, ‘विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ ।’

उनले बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह समेत गरेका छन् । बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् ।

तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र वामदेव गौतमलाई पनि सामेल गराउने प्रयास भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर