तथ्यपरक आलोचनाको स्वागत गर्छु, तर बदनाम स्वीकार्दिन : हरिकृष्ण कार्की – Nepal Press

तथ्यपरक आलोचनाको स्वागत गर्छु, तर बदनाम स्वीकार्दिन : हरिकृष्ण कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालती फैसलाको विश्लेषणात्मक अध्ययन र सुझावको अपेक्षा गरेको बताएका छन् । त्यसले पुनरावलोकनको बाटो सहज हुने उनको भनाइ छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिसकेको छ ।

उनले आफूले आलोचनाको स्वागत गर्ने भन्दै तर त्यो तथ्यसंगत हुनुपर्ने बताए ।

‘म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस् भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु । तर, दर्शन, सिद्धान्त, तथ्य र मूल्यमान्यतामामा आधारित हुनुपर्छ । कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।’

शुक्रबार संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्ने आफ्नो योजना सुनाए ।

उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने कार्कीको भनाइ थियो । आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको उनले बताए ।

कार्कीले भने, ‘अब हामी जुडिसियल एकेडेमीलाई प्रोफेसनल बनाउने र त्यो जुडिसियल एकेडेमीमा न्यायाधीशहरुको एउटा कोर्स नै डेभलप गर्ने र त्यो न्यायाधीशको कोर्ष गरेको मान्छेमात्रै न्यायाधीश हुनसक्ने व्यवस्था गर्दैछौँ । त्यसले न्यायाधीशको योग्यता, क्षमत, निष्ठा, इमान, त्यो तालिममा सबै कुराहरु समावेश हुन्छन् । त्यस्तोमा मिनिमम प्रतिशत ल्याएरको व्यक्ति मात्रै न्यायाधीश हुनसक्ने प्रणाली विकास गर्नसक्यो भने अहिले भएका न्यायाधीशमा उठ्ने गरेका प्रश्नहरुको ५० प्रतिशत समाधान त्यहीँबाट निस्किन्छ । बाँकी ५० प्रतिशत व्यवहारबाट गर्नेकुरा हो । त्यसबाट हामी अघि बढ्नुपर्छ भनेर हामीले थ्रि सिएल्स एकेडेमीले जजेज कोर्षको एकेडेमी तयार गर्दैछ । यसले न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्नेछ ।’

कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताए। आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर