मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित – Nepal Press

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीस्वरुप फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टीम १-० गोलले पराजित भएको छ ।

मनिलास्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन सकेन । हार्वे गायोसुले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सको जीतमा निर्णायक बन्यो ।

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ। ए डिभिजन लिगका कारण तयारी गर्न लामो समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ ।

नेपाल र फिलिपिन्सले यसअघि ६ खेल खेलेका थिए । जसमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो ।

नेपाल र फिलिपिन्स सन् १९८२ मा पहिलो पटक भिडेका थिए । किङ्ग कपमा भएको उक्त भेटमा नेपाल १-० ले विजयी भएको थियो ।

त्यसयता भएका पाँच खेलमा नेपालले चार खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको थियो । नेपालले सन् २०११ मा ४-० तथा २०१४ मा भएका दुई भेटमा समान ३-० गोलको पराजय व्यहोरेको थियो । यी तीन वटै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थिए ।

एसिया कप छनोटअन्तर्गत सन् २०१७ मा भएको पहिलो भेटमा नेपाल ४-१ ले पराजित हुँदा दोस्रो खेल गोलविहीन बराबरीमा सकिएको थियो । त्यसपछि आज नेपाल र फिलिपिन्स पहिलोपटक आमनेसामने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *