हिसान शैक्षिक मेलामा विद्यार्थीको आकर्षण, एक हजार विद्यार्थीले छात्रवृति पाउने – Nepal Press

हिसान शैक्षिक मेलामा विद्यार्थीको आकर्षण, एक हजार विद्यार्थीले छात्रवृति पाउने

काठमाडौं । उच्च शिक्षाका लागि उत्कृष्ट कलेज खोजिरहेका विद्यार्थीलाई लक्षित गरेर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

भृकुटीमण्डप प्रदर्शनी हलमा सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको मेलामा ७५ वटा भन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका छन् ।

एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । यो मेलाबाट विद्यार्थीले आफ्नो भविष्य कसरी अघि बढाउँने भन्ने जानकारी लिन सक्ने हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए ।

बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने मेलामा सुरुकै दिन विद्यार्थी र अविभावकहरुको चासो देखिएको आयोजकको भनाइ छ । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले बताए ।

चारदिने एडुफेयरमा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने आचार्यले बताए । कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकाय/विषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ ।

शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग मेलामा आउने विद्यार्थीले छलफल र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ । मेलामा सहभागीमध्ये एक हजारभन्दा बढी विद्यार्थीले पूर्ण र आंशिक छात्रवृतिको अवसर पाउँनेछन् ।

एडुफेयरमा पहिलो पटक काठमाडौं विश्वविद्यालयको पनि सहभागिता रहेको आचार्यले जानकारी दिए । त्यसबाहेक कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयहरूसहित त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूको सहभागिता रहेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा दिइएको छ । नेपालमा सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा सही जानकारी एवं परामर्श दिन लागिएको हिसानका महासचिव भण्डारीले बताए ।

नेपालका शिक्षण संस्थाबारे विद्यार्थी अभिभावकलाई सचेत गराउने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जनाए । ‘पढ्न विदेश जाने प्रवृत्तिले नेपालमा विद्यार्थीको खडेरी पर्ने संकेतहरू देखापरेका छन्,’ उनले भने, ‘विदेश जत्तिकै शिक्षा नेपालमा पाइन्छ । ठूलो धनराशि खर्च गर्न पर्दैन, यहाँ पनि राम्राराम्रा शिक्षण संस्था छन् भन्ने चिनाउन खोजेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *