राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग सांघाइका अध्यक्ष युन्हुकाे भेट – Nepal Press

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग सांघाइका अध्यक्ष युन्हुकाे भेट

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको सांघाइ म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच पिपुल्स बिल्डिङमा भेट भएको हाे ।

भेटमा सांघाइ र पोखराको भगिनी सम्बन्ध स्थापनाको बारेमा पनि छलफल भएको थियो ।

वार्तामा चीनको छेन्दुबाट पोखरासम्म सीधा हवाई उडान सुरु गर्ने विषयले प्राथमिकता पाएको थियो । भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक शहर सांघाइको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्नेमा जोड दिँदै सांघाइबाट काठमाडौं र पोखरा सीधा उडानको व्यवस्थाबारे प्रस्ताव गरेका थिए ।

तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माका अनुसार सीधा उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै आउन सक्छन् । यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

चीनको सांघाइ म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाइ सबैभन्दा ठूलो आर्थिक केन्द्र भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्‍याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताएको शर्माले जानकारी दिए ।

भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्यका साथै चीनको सांघाइका नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन-नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाइ म्युनिसिपल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङलगायत सहभागी थिए ।

यसअगाडि बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता भएको थियो ।

अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बिहीबार तिब्बत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *