साउदीको मक्कामा हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने (भिडिओ) – Nepal Press

साउदीको मक्कामा हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने (भिडिओ)

काठमाडौं । साउदी अरबको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ ।

आज मुस्लिम आयोगले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।

परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ । आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताए ।

‘हाम्रो परराष्ट्र मन्त्रालयबाट आएको पत्र अनुसार साउदी अरवको पवित्र सहर मक्कामा २५ अगष्टदेखि ६ सेप्टेम्बरसम्म अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा नेपालको तर्फबाट पनि एक जना सहभागी गराउनुपर्ने भनेर साउदी एम्बेसीबाट परराष्ट्र मन्त्रालयमा आयो । सो जानकारी हामीलाई गराएको छ’, उनले भने, ‘त्यही बमोजिम हामीले चाँही एक हप्ता अघि नै सूचना निकालेर यसमा सहभागी हुने इच्छुक चाँही स्टुडेन्टलाई आ-आफ्नो मदरसाबाट छनौट गरेर चाँही आज आयोगमा २०८० साल ज्येष्ठ ३१ गते छनौटका लागि हामीले आह्वान गरेका थियौं । त्यही हिसावले टोटल १२ जना विद्यार्थीहरु यसमा सहभागी हुनु भएको छ । जुन चाँही ५ वटा क्याटोगरी यसमा दिएको छ साउदी सरकारको तर्फबाट । त्यसमा हामीले तेस्रो क्याटोगरीलाई चुज गर्यौं । र, त्यो क्याटोगरीमा चाँही आज कम्पिटीशन हुन्छ । र, यो १२ जना मध्ये चाँही कम्पिटीशनमा एक जनालाई हामी छनौट गर्छौ । र, त्यो एक जना चाँही साउदी सरकारकै खर्चमा साउदीमा अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा उहाँहरु जानुहुन्छ । र, यसको जुन क्याटोगरी छ । त्यसमा फष्ट हुनेलाई २ लाख रियाल पुरुस्कार पनि छ । र, यसमा विश्वभरीबाट नै सहभागी हुने हो यो कम्पिटीशनमा ।’

सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौं ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *