अपरेसन गर्न लगिएको बिरामीको ४ दिनसम्म होस नफिरेपछि आफन्तको प्रदर्शन – Nepal Press

अपरेसन गर्न लगिएको बिरामीको ४ दिनसम्म होस नफिरेपछि आफन्तको प्रदर्शन

नेपाल मेडिकल कलेजको ओपीडी बन्द

काठमाडौं । काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले ओपीडी अनिश्चितकालसम्मको लागि बन्द गरेको छ । उपचारको क्रममा लापरबाही भएको आरोप लगाउँदै बिरामीको आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पताल प्रशासनले ओपीडी अनिश्चितकालसम्मको लागि बन्द गरेको हो ।

अस्पतालमा २८ गते भर्ना भई उपचाररत गोकर्णेश्वर नगरपालिका, माकलवारीका ७१ वर्षीय सूवर्णकुमार धितालका विषयलाई लिएर केही उत्तेजित भिडबाट हिजो साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेको अस्पताल प्रशासनको आरोप छ ।

अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरूलाई कुटपिट गर्ने अप्रिय शब्दहरू प्रयोग गरी अस्पताल सुचारु हुन नदिई सेवा अवरुद्ध गरी शान्ति सुरक्षामा बाधा पारेको कारण नियमित अस्पताल सेवा संचालन हुन नसक्ने विज्ञप्तिमा लेखिएको छ ।

बिरामीका आफन्तले भने अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै हिजो अस्पतालविरुद्ध नाराबाजी गरेका थिए ।

साधारण पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्न घरबाट हिँडेर अस्पताल पुगेका धिताल अस्पतालको चरम लापरबाहीको कारण अहिलेसम्म अचेत अवस्थामा रहेको बिरामीको आफन्तको गुनासो गरेका छन् । चारदिनअघि माइनर अप्रेशन गर्नका लागि भर्ना भएका उनकाे अझै हाेस नआएकाे आफन्त अचुत भट्टराईले नेपालप्रेसलाई बताए । अहिले  उनलाई भेन्टिलेटरमा राखिएकाे छ ।

‘दूरविनद्वारा गर्ने सधारण डेढ घण्टाको शल्यक्रिया हो, ठीक हुन्छ भनेर आश्वासन दिएर थियटर लगेको बिरामीलाई केही क्षणमै अनायासै रगतदेखि अन्य औषधिहरू मागेका छन् । पछि बुझ्दा दुरविनबाट शल्यक्रिया गर्दा कलेजोको नसाहरु काटिन गई उच्च रक्तस्राव भएपछि फेरि ओपन शल्यक्रिया गरेपछि शरीरमा रगतको मात्रामा कमी भई अचेत अवस्थामा हुनुहुन्छ । हामीलाई केही जानकारी छैन । यो सरासर लापरबाही भएको छ’, भतिज राजन धितालले बताए ।

डाक्टर, अस्पताल र प्रशासनहरु ले यो घटनाको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *