बूढानीलकण्ठ स्कुलको अर्को बदमासी- फेल भएको भन्दै विद्यार्थी निकाला, बालक र बाबुआमा तनावमा – Nepal Press
फलोअप

बूढानीलकण्ठ स्कुलको अर्को बदमासी- फेल भएको भन्दै विद्यार्थी निकाला, बालक र बाबुआमा तनावमा

भर्नामा झेल लुकाउने खेल, सूचना चुहाउनेको खोजी

काठमाडौं । फेल भएकाको नाम फेरेर विद्यार्थी भर्नामा चलखेल गरेको बूढानीलकण्ठ स्कुलको अर्को बदमासी भेटिएको छ । विद्यालयले टोखाका एक विद्यार्थीलाई ‘पोर पर्फमेन्स’ देखाउँदै निकालिदिएको हो ।

कक्षा ५ मा प्रवेश परीक्षा दिएर ६ सम्म अध्ययन गरेका १३ वर्षीय आचार्य थरका बालकलाई शिक्षकले धेरै मेहनत गर्दा पनि उत्तीर्ण हुन नसकेकोले घर लैजान भनेर अभिभावकलाई पत्र थमाइएको छ । विद्यालयले निकाल्ने निर्णय गरेपछि बालकसँगै आफूहरू मानसिक तनावमा भएको अभिभावक बताउँछन् ।

विद्यालयकी भाइस प्रिन्सिपल टीएस आचार्यले हस्ताक्षर गरेर अभिभावकलाई लेखेको पत्रमा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र स्थानीय पाठ्यक्रममा पास हुन नसकेको भन्दै अभिभावकको निगरानीमा बाहिरै पढाउनुपर्ने भएकाले घर लैजान भनिएको छ । आवासीय रूपमा उनलाई स्कुलमा पढाउन नसकिने पत्रमा जिकिर गरिएको छ ।

हेर्नुस्- विद्यालयले लेखेको पत्र :

अहिले अभिभावकले ती बालकलाई हेराल्ड स्कुल भर्ना गरिदिएका छन् । पटकपटक विनय गर्दा पनि विद्यालयले आफ्नो कुरा नसुनेको आमा कमला आचार्य बताउँछिन् । दिनदिनै आफूलाई निकालिदिएकोमा छोराले दु:खेसो गर्ने भन्दै उनले परिवारका सबै सदस्य नै मानसिक तनावमा परेको बताइन् ।

‘प्रिन्सिपस/सहायक प्रिन्सिपल सबैसँग गएर हारगुहार गरेँ । बरु दोहोर्‍याएर पढ्छ । तपाईँहरूको स्कुललाई अप्ठ्यारो नै पर्छ भने ८ कक्षाको जिल्लास्तरीय परीक्षामा नराखौंला भनेर बिन्ती गरेँ । हाम्रो कुरा कसैले सुनेनन् । अरु बच्चालाई समेत असर पर्छ भनेर निकाली छाडे’, कमलाले भनिन् ।

यो पनि पढ्नुस् : बूढानीलकण्ठ स्कुलकाे भर्नामा झेल- इन्ट्रान्समा ३४ प्रतिशत ल्याउने ‘पास’, ५५ प्रतिशत ल्याउने ‘फेल’

विद्यालयमा आफ्नो १४ लाख लगानी भइसकेको भन्दै उनले धरौटीलगायतको पैसा पनि फिर्ता नदिएको र अझै आफू छोराको पुन: भर्नाको अडानमा रहेको बताइन् । छोराको ठाउँमा अर्को भर्ना गरिसकेको प्रिन्सिपलले जवाफ दिएको पनि सुनाइन् ।

कमलाको भनाइ जस्ताको तस्तै:

मैले प्रिन्सिपल होम सरलाई भेटेर मेरो बच्चा कमजोरी छ मैले माने यो वर्ष चान्स दिनु उसले कभर गरेन भने म निकालुँला मैले हजुरको स्कुलको रेकर्ड बिगार्न खोजेको छैन । एसईई हैन, ८ कक्षाको जिल्लास्तरीय पनि हैन । अहिले सानो क्लास हो । बच्चा पढेन, सुधार गरेन भने म निकाल्छु अर्को पटक भनेँ । उहाँले हुँदै हुन्न तपाईँको बच्चाको साटो अर्को राखिसक्यौं भन्नुभयो । मिल्दै मिल्दैन भनेर मेरो कुरै सुन्नुभएन । ५ कक्षाबाट ६ मा त्यही स्कुलमा पढेर पास भएर गाको हो । विद्यार्थीको पढाइ कमजोर हुनुमा त उसलाई मात्र दोष दिनु भन्दा पनि पढाउने टिचरहरूको पनि त कमजोरी हुनुपर्ने हो । फेरि निकाल्ने नै भन्ने त नहुनुपर्ने हो दिमागै नभाको भन्न त कसरी मिल्ला र जान्ने बनाउन त स्कुल लगेको नि । मेरो छोरा सधैँ चिन्ता गर्छ । जाँचको बेला पनि म पढिरहन्थे, कोही खेलिरहन्थे मभन्दा नजान्ने साथी पनि त्यो ऊ चाहिँ कसरी पास भयो । मलाई स्कुलले किन निकालेको मामु भन्दै सोध्छ । हामीले जवाफ दिँदा दिँदा थाकिसक्यौं । अझै केही हुन्छ कि भनेर त्यहाँको धरौटी निकालेको छैन । ५ कक्षादेखि १४ लाखजति खर्च भइसकेको छ । कि त त्यो पैसा फिर्ता हुनुपर्‍यो कि त मेरो छोरा पढ्न पाउनुपर्‍यो भन्ने मेरो माग हो ।

जिल्ला शिक्षा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल विद्यार्थीलाई फिर्ता पठाएको विषयमा आफूलाई थाहा नभएको बताए । पौडेल बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका सदस्यसमेत हुन् । उनले त्यसरी विद्यार्थी फेल भयो भनेर पढाउँदिन भने नमिल्ने बताउँछन् ।

‘कित एड्मिसन गर्न मिलेन, जाँचमै लैजान भएन । फिर्ता लैजा भन्न त कसरी पाइयो र ?’, उनले भने ।

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनसम्बन्धी प्रिन्सिपललाई अधिकार दिएर त्यहाँ छुट्टै कार्यविधि बनेको पौडेलको भनाई थियो । प्रिन्सिपललाई मात्र सबै अधिकार दिने गरी कानून बनाइदिने हो भने व्यवस्थापन समितिको के भूमिका त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘सामुदायिक विद्यालयमा मेनेजमेन्ट कमिटीले बढी दबाब दिन्छ भनेर त्यस्तो गरेको हो कि । तर, भर्ना र विद्यार्थीबारे प्रिन्सिपल नै जिम्मेवारी हुँदो रहेछ । त्यसरी फेल भयो नै भनेर त अभिभावकलाई बच्चा फिर्ता लैजा भन्न पाइँदैन । के भएको रहेछ बुझ्छु ।’

शिक्षा सचिव रामकृष्ण सुवेदीले यो विषयमा प्रतिक्रिया दिन चाहेनन् । बोर्ड अफ ट्रष्टको अध्यक्ष रहेका सुवेदीले सुरूमा फोनमा नेपाल प्रेससँग कुरा गर्न चाहेपनि बूढानीलकण्ठको विषय उठाएपछि प्रवक्ता र व्यवस्थापन समितिका अध्यक्षलाई बुझ्न भनेँ ।

‘देशभरका ३५ हजार स्कुल हेर्नुपर्छ । सबै कुरा थाहा हुँदैन । प्रवक्तालाई बुझ्नुस् न’, सचिव सुवेदीको जवाफ थियो ।

यत्रो प्रतिष्ठित विद्यालयमा भर्नामा चलखेल भएको विषयमा तालुकदार निकायको प्रुमखको हिसाबले जवाफदेहिता त तपाईँको पनि होला नि सरकारले वार्षिक करोडौं रूपैयाँ अनुदान दिइरहेको स्कुल फेरि ? भन्ने जिज्ञासामा उनले पटकपटक प्रवक्ता र सहसचिवसँग सोध्ने भने ।

कुनै पनि स्कुलले विद्यार्थी फेल भएकै कारण निकाल्न पाउने नपाउने सवालमा उनले आफू मिटिङमा भएको भनेर कुरा टुंग्याए ।

यस विषयमा प्रिन्सिपल होमनाथ आचार्यको मोबाइल सोमबार साँझ उठेन, आज बिहान स्वीच अफ थियो । भाइस प्रिन्सिपल टीएस आचार्यले २ पटक घण्टी गएपनि उठाइनन् ।

कहाँ पुग्यो भर्नामा झेलको छानबिन

प्रवेश परीक्षामा फेल भएका विद्यार्थीको नाम नै फेरेर पास भएका विद्यार्थीको कोटामा दुई विद्यार्थी भर्ना गरेको चलखेल बाहिर आएपछि जिम्मेवार अधिकारी नै घटना थामथुम पार्न र बचाउन लागि परेका छन् । भर्नामा झेल गरिएको समाचार नेपाल प्रेसले विस्तृतरूपमा प्रकाशन गरेको थियो ।  यस शैक्षिक सत्रका लागि स:शुल्क पढ्ने गरी प्रवेश परीक्षा दिएकामध्ये मेरिट लिस्टमा ७७औं स्थानमा नाम निकालेका दुई छात्राको ठाउँमा ११४ र ३९१ र्‍याङ्कमा रहेकालाई भर्ना गरिएको छ । पछि एकान-दुईकान हुन थालेपछि छात्रवृत्तिको कोटा काटेर बाँकी दुईजनालाई पनि भर्ना गरिएको छ ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूले उक्त प्रकरणमा ध्यानाकर्षण भएको भन्दै भर्नामा अनियमितता गर्नेमाथि कारबाही गर्न र बूढानीलकण्ठ स्कुलको गरिमा कायम राख्न माग गरेका छन् ।

बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका अध्यक्ष शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले छानबिन जारी रहेको बताए ।

जिल्ला शिक्षा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल आजभोलिमा प्रारम्भिक प्रतिवेदन बुझाइने जानकारी दिए ।

‘मन्त्रालयले सबै अवस्था बुझेर प्रारम्भिक प्रतिवेदन बुझाउन मलाई २६ गते भनेको छ । म अध्ययन र छलफल गरिरहेको छु । आजभोलि प्रतिवेदन बुझाइनेछ ।’

भर्ना प्रक्रियाको चलखेलका फेहरिस्त बाहिर ल्याउन र संलग्नलाई कारबाहीको मागसहित अभियान थालेका नेविसंघका स्थानीय नेता विजेन केसीले राजनीतिक दबाबमा कमजोरी ढाकछोप गर्ने र दोषी जोगाउन खोजिएको आशंका गरे ।

शुक्रबार मन्त्रालय, शिक्षा इकाईसहितका अधिकारीसमेतको छलफलमा वास्तविकता बुझ्ने भन्दा पनि स्कुलको गोप्य सूचना कसले चुहायो भनेर केही व्यक्तिलाई केरकार गरिएको बैठकमा सहभागी एकजनाले बताए ।


प्रतिक्रिया

One thought on “बूढानीलकण्ठ स्कुलको अर्को बदमासी- फेल भएको भन्दै विद्यार्थी निकाला, बालक र बाबुआमा तनावमा

  1. शैक्षिक माफियाहरू बलिया छन् सेवाग्राही कमजोर ठोकठाक पारेर साइजमा ल्याउने कानुन मरेपछि गैरन्यायिक तवरबाट पनि यस्तालाई सबक सिकाउने काम होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *