बूढानीलकण्ठ स्कुलको भर्ना चलखेल : विद्यार्थी संगठनले गरे छानबिन र कारबाहीको माग – Nepal Press

बूढानीलकण्ठ स्कुलको भर्ना चलखेल : विद्यार्थी संगठनले गरे छानबिन र कारबाहीको माग

काठमाडौं । बूढानीलकण्ठ स्कूलमा भर्नामा भएको चलखेलको विषयलाई लिएर विद्यार्थी संगठनहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रवेश परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउनसमेत माग गरेका छन् ।

बूढानीलकण्ठलमा कक्षा ५ को प्रवेश परीक्षामा फेल भएका विद्यार्थीको नाम नै फेरेर पास भएका विद्यार्थीको कोटामा भर्ना गरिएको समाचार नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रवेश परीक्षाको नतिजाअनुरूप मेरिटमा अगाडि भएको विद्यार्थीहरूलाई भर्ना हुन नदिएर विद्यालय प्रशासनले मापदण्डविपरीत भर्ना गरिएको विषय निन्दनीय भएको बताएका छन् ।

‘प्रतिष्ठित विद्यालयबाट यस्ता अनौतिक र अमर्यादित गतिविधि हुनु नै विद्यालय र शैक्षिक निकाय प्रति विद्यार्थी र अभिभावकहरूको विश्वास र भरोसा घट्दै जानुको मुख्य कारण हो’, नेविसंघले भनेको छ ।

यो पनि पढ्नुस् : बूढानीलकण्ठ स्कुलकाे भर्नामा झेल- इन्ट्रान्समा ३४ प्रतिशत ल्याउने ‘पास’, ५५ प्रतिशत ल्याउने ‘फेल’

अनेरास्ववियुका अध्यक्ष समिक बडालले छात्रवृत्तिको कोटा घटाएर फेल भएकालाई भर्ना गर्ने कार्यमा संलग्नलाई निलम्बन गरी तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

‘दुईजना परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई आर्थिक चलखेल गरी नक्कली नाम खडा गरेर विद्यार्थीको भर्ना भएको तथ्य बाहिरिएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नो बदमासीको ढाकछोप गर्न २ वटा छात्रवृत्तिको कोटा घटाई गरेको अनियमिततामा संलग्नलाई निलम्बन गरी तत्काल छानविनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ’, अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मेरिटमा अगाडि रहेका दुई विद्यार्थीलाई भर्ना हुन नदिएर विद्यालय प्रशासनले आर्थिक चलखेल गरि नक्कली विद्यार्थी भर्ना गरेको विषयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

‘नक्कली विद्यार्थी भर्ना गरेर बुढानिलकण्ठ विद्यालय प्रशासनको गम्भीर र अक्षम्य गल्ती गरेको छ । थप आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न बहानाबाजी गरेर सत्य लुकाउन समेत विद्यालय प्रशासनले दुस्साहस गरेका पछिल्ला गतिविधि निन्दनीय छन् । घटनामा संलग्न दोषीहरुलाई तत्काल निलम्बन गरि आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित पक्ष संग जोडदार माग गर्दछौं’, क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भर्ना प्रक्रियामा चलखेल तथा अनियमितता तथा छानबिन गर्नेमाथि कारबाही गरी विद्यालयको प्रतिष्ठा जोगाउन शिक्षा मन्त्रालय र सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *