स्थानीय सरकारलाई बजेट ल्याउने चटारो, प्रतिस्पर्धीहरुलाई सँगै राखेर मेलम्ची नगरपालिकाले माग्यो सुझाव – Nepal Press

स्थानीय सरकारलाई बजेट ल्याउने चटारो, प्रतिस्पर्धीहरुलाई सँगै राखेर मेलम्ची नगरपालिकाले माग्यो सुझाव

सिन्धुपाल्चोक । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको पहिलो एक वर्ष पुरा भएको छ । स्थानीय सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागि रहेको छन् ।

निर्वाचनमा प्रतिस्पर्धी भएकाहरुसँगको धेरै स्थानीय तहमा अझै पनि राम्रो सम्बन्ध छैन तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले भने आफूसँगै प्रतिस्पर्धी गरेकाहरुलाई समेत बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ ।

प्रतिस्पर्धी गरेकाहरुसँग मात्रै होइन नगरपालिकाका पूर्व मेयर र उपमेयरसँग पनि नगरपालिकाले सुझाव मागेर नगरपालिकाको मेयर आइतमान तामाङले राजनीतिक संस्कारको सुरुवात गरेका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका थिए बालकृष्ण देउजाले । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाव संकलन कार्यक्रममा देउजाले भने–नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाव दिए।

देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने समेत बताए । उनले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिएका थिए ।

संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला सँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने वातावरण सिर्जना गर्न देउजाले आग्रह गरे ।

निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका नानीराम चौलागाईंले एक वडा एक उद्योग स्थापना गर्ने नीति ल्याउन नगरलाई सुझाव दिए । चौलागाईले कृषिलाई व्यवसायिकीकरण गर्न एक वडा एक शीत भण्डार व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । उनले उपभोक्ता समिति र कोटेशन खारेज गरेर योजनालाई दिर्घकालीन बनाउनु पर्ने बताए ।

स्थानीय व्यवसायी एवम नेपाली कांग्रेसका महनधिवेशन प्रतिनिध सागरकुमार श्रेष्ठले बाहुनेपाटीबाट मेलम्चीसम्म इन्द्रावति नदिमा ड्याम बनाएर ताल निर्माण गरी पर्यटन प्रवर्धनमा सघाउ पुर्‍याउन आग्रह गरे । उनले पर्यटनको माध्यम बाट मेलम्चीको समृद्धि सम्भव भएको दाबी गरे ।

निवर्तमान नगरप्रमुख डम्बर बहादुर अर्यालले बस्तीस्तरबाटै योजना तर्जूमाको सुरुवात गर्न सुझाब दिए । उनले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेको गुनासो गरे । उनले भूमी बैंकको व्यवस्था गरि बाँझो जग्गा व्यवस्थापनको नीति लिनुपर्ने बताए । मेलम्ची नगरपालिकाकी निवर्तमान उपप्रमुख भगवती नेपालले राज्यको सुविधाबाट बञ्चित एकल पुरुषलाई नीति तथा कार्यक्रममा सम्बोधन गर्न आग्रह गरिन् ।

उनले कृषिमा किसान, नगरपालिका र सहकारी साझेदारी अनुदानको मोडल अपनाएर व्यवसायिक बनाउने बजेट व्यवस्थापन गर्नुपर्ने बताइन् ।बालअधिकारकर्मी डा. कृष्ण सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विकासलाई उत्पादनसँग जोड्नु पर्ने धारणा राखे । उनले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाएर नागरिकको आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष सिपी दुलालले स्थानीय मदिरालाई वैधानिकता दिई करको दायामा ल्याएर आन्तरिक स्रोत बढाउन सकिने तर्फ सोच बनाउनुपर्ने धारणा राखे । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष फडिन्द्र दाहालले कृषि उत्पादनलाई सहज रुपमा बजार पुर्‍याउन बजेटको व्यवस्था गर्न नगरलाई आग्रह गरे । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिंदै नगरप्रमुख तामाङले आएका सुझावलाई प्राथमिकताका आधारमा क्रमश समावेश गरिंदै जाने प्रतिवद्धता जनाए ।

उनले पर्याप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताए । तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने जानकारी दिए । उनले संघीय र प्रदेश सरकारसँगको समन्वयमा योजना तर्जूमा गरि आम नागरिकको भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताए ।

कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले आगामी वर्षको योजना तर्जूमाको चरणमा रहेकाले सरोकारवालाहरुले दिएको सुझाबलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कार्यक्रमले समुदायको अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *