कोशीकी उपसभामुख सृजनामाथि आक्रमण प्रयास, इलाममा एमाले सांसद राम रानालाई दुर्व्यवहार – Nepal Press

कोशीकी उपसभामुख सृजनामाथि आक्रमण प्रयास, इलाममा एमाले सांसद राम रानालाई दुर्व्यवहार

विराटनगर । कोशी नामकरणपछि असन्तुष्ट समूहले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमणको प्रयास गरेका छन् ।

उदयपुर गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरू गर्नेबारेको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा उनीहरूमाथि आक्रमण प्रयास भएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमनपछि प्रदेशस्वास्थ्य मन्त्री तीलकुमार मेन्याङ्बो, उपसभामुख सृजना दनुवार, प्रदेश स्वास्थ्य सचिव डा. सुधा देवकोटासहितको टोली भुल्केस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।

कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बोल्टारको बाटो हुँदै विराटनगर फर्किए भने उपसभामुख दनुवार सहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाटतर्फ लागे । फर्किने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा आक्रमण प्रयास गरेका थिए ।

उनीहरूले त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्णरूपमा क्षति पुर्‍याएका छन् । उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरे । घटनामा उपप्रमुखको गाडीमा बढी क्षति भएको भन्ने जानकारीमा आएको प्रजिअ गौतमले जानकारी दिए ।

यस्तै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् । इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४-५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् । उनीसहित ३ जना सवार गाडी बिर्तामोडतर्फ आउने क्रममा रहेको थियो । उनीहरूले बाटो छेकेपछि आफू त्यहाँबाट फर्किएर इलाम बजार आएको रानाले जानकारी दिए । रानालाई यस अघि पनि एउटा समुहलने आक्रमण गरेको थियो । उनी चढेको सरकारी गाडीमा ढुङ्गा मुडा प्रहार भएको थियो । पहिचानवादीले उनलाई यो दोस्रो पटक आक्रमण गरेका हुन् ।

पछिल्ला दिनमा पहिचानवादीले एमाले मन्त्री/सांसद र नेतालाई आक्रमणको तारो बनाउँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “कोशीकी उपसभामुख सृजनामाथि आक्रमण प्रयास, इलाममा एमाले सांसद राम रानालाई दुर्व्यवहार

  1. यी गुण्डा हुन् । गुण्डाहरू पैसा खाएर पहिचानको मुखुण्डो लगाएर हिडेका छन् ।गृहमन्त्री कहाँ छ यो देशमा ? के हेरेर बसेको छ ? जनताले आफैं कारवाही गर्नपर्ने हो भाडाका टट्टुहरूलाई ? सरकारले सुरक्षा दिनु पर्दैन? ज्यानमाराहरू सरकारमा जाने बितिक्कै यस्तो उपद्रव ? होसियार ज्यानमारा र तिनका नोकरहरू । एमालेले शुरू गर्दा कोही बाँकी रहदैन । ख्याल गर दलालहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर