रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु – Nepal Press

रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग समापन नजिक पुग्दा लिग विजेता र रेलिगशेनबाट जोगिन संघर्षरत टिमबीचको लडाई रोचक देखिएको छ । सबै क्लबहरु दबाबमा रहेकाले त्यसको मार रेफ्रीमाथि परेको छ ।

आईतबार च्यासल रंगशालामा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबसँग २-१ गोलको हार बेहोरेपछि रेफ्री प्रञ्जल क्षेत्रीले पेनाल्टी नदिएको भन्दै विवादमा उत्रिएको थियो । मच्छिन्द्रका आषिश श्रेष्ठ रेफ्री क्षेत्रीमाथि हातपात गर्न गएसँगै रातो कार्डको दर्शन गर्दै बाहिरिएका थिए ।

त्यसपछि रेफ्री माथिको आक्रोश खेल हेर्न आएका दर्शकमाथि पोख्दै मछिन्द्रका टिम म्यान्जर अनिल श्रेष्ठ भनाभनमा उत्रिएका थिए।

खेलपछि मच्छिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले रेफ्रीले गलत निर्णय दिएका कारण खेल हारेको र विवाद समेत उत्पन्न भएको बताए ।

त्यसपछि साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबबीचको खेलमा पनि पेनाल्टीको निर्णय विवादित बन्दा रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयास भयो ।

खेलको ८६औं मिनेटमा मनाङका चेतन थारुले उत्तम राईमाथि फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । अमित तामाङले पेनाल्टीको सदुपयोग गरेसँगै मनाङले फ्रेन्ड्ससँग को बराबरी खेलेको थियो ।
सो पेनाल्टीको निर्णयपछि नै पटक पटक फोर्थ अफिसियसँग विवाद गर्न पुगेका मनाङका अध्यक्ष विजय घले १० मिनेटको इन्जुरी मिनेट थप हुँदा थप आक्रोशित बनेका थिए ।

उनी पटक पटक म्याच अफिसियलमाथि विवाद गर्न पुग्दा लिग निर्देशक सञ्जिव मिश्र र एन्फाका उपाध्यक्ष विराटजंग शाहीले सम्झाएका थिए । तर उनले त्यहीबाट प्यारापिटमा रहेका मनाङका पदाधिकारीलाई मैदानमा ओर्लन आग्रह गरेका थिए ।

खेल सकिए लगत्तै अपशब्द प्रयोग गर्दै घले व्यञ्नकारमाथि हात हाल्न पुगेका थिए । व्यञ्जनकारसहित रेफ्रीको टोलीलाई जोगाउन सुरक्षा गार्ड हम्मे परेको थियो ।
विवाद त्यतीमा रोकिएन, मनाङका एक पदाधिकारीले फ्रेन्ड्स क्लबका खेलाडीलाई लक्षित गर्दै प्लेयर बक्समा कुर्सी प्रहार गरेका थिए । प्रहरीले ती पदाधिकारीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि केही क्षणमा छोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *