कोशी प्रदेश : सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धिमा बजेट केन्द्रित हुने – Nepal Press

कोशी प्रदेश : सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धिमा बजेट केन्द्रित हुने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ ।

कोशी प्रदेशसभाको जारी बर्खे अधिवेशन अन्तर्गत बुधबारको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सो कुरा बताएका छन् ।

अर्थमन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिकासमेत निर्वाह गर्ने नीति लिने बताए ।

सो अवसरमा उनले कृषि क्षेत्रको विकास, औद्योगिक क्षेत्रको विकास र प्रवर्द्धन, पर्यटन क्षेत्रको प्रवद्र्धन, पूर्वाधार विकास, स्वास्थ्य सेवा, सामाजिक विकास, सहकारी र गरिवी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह र सुशासन प्रथामिकता क्षेत्रहरु रहेको जानकारी गराए ।

प्राथमिकताको क्षेत्रमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिइने उनले प्रस्ट पारे ।

‘बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई मध्यनजर गर्दै छिटो प्रतिफल दिनसक्ने तयारी पुरा भएका आयोजना तथा कार्यक्रम छनौट गरिनेछ’, मुख्यमन्त्री कार्कीले भने ।

उनले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनाहरुमा पर्याप्त बजेट विनियोजन गरिने, सधारण खर्चमा मितव्ययीता कायम गर्दै बाञ्छित सीमा भित्र राख्ने र प्रदेशको आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाइने प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर