भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद (भिडिओ) – Nepal Press

भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद (भिडिओ)

काठमाडौं । सरकारले नेपाल-भारत जोड्ने रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल-वीरगञ्ज-सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताएका हुन् ।

उनले नेपालगञ्ज(रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए । उनले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताए ।

उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताए । उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।

परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताए । उनले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर