राष्ट्रको ढुकुटी रित्याउँदै सार्वजनिक संस्थान – Nepal Press

राष्ट्रको ढुकुटी रित्याउँदै सार्वजनिक संस्थान

काठमाडौं । सकारको लगानीबाट सञ्चालित सार्वजनिक संस्थानहरुले दिने आय भन्दा खर्च वर्षेनी बढ्दै गएको छ । हाल नेपालमा ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् ।

तर त्यसमा पनि ४२ वटा मात्रै सञ्चालनमा छन् । २ वटा सञ्चालन छैनन् । सरकारले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षाले सार्वजनिक संस्थानको लगानी बालुवामा पानी भएको पुष्टि भएको छ ।

संस्थानको शेयरपूँजीमा ५० प्रतिशत भन्दा बढी सरकारको स्वामित्व भएका निकायलाई सार्वजिनक संस्थानको रुपमा परिभाषित गर्दै आएको छ । हाल औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनउपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ गरी जम्मा ४४ वटा संस्थान अस्तित्वमा छन् ।

जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना,नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी, र नेपाल ओरियन्टेड प्रालि कानुनी रुपमा अस्तित्वमा त छन् तर यि संस्थानले कुनै पनि व्यावसायिक कारोबार गरेका छैनन् ।

नेपाल मेटल कम्पनी त स्थापना भएदेखि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । धौवादी फलाम कम्पनी र नेपाल पूर्वाधार निर्माण कम्पनी पछिल्लो पटक स्थापना भएकास सार्वजनिक संस्थान हुन् ।

सार्वजनिक संस्थान आर्थिक उदारिकणपछि प्रतिस्पर्धात्मक वातावरणमा कुशलतापुर्वक सञ्चालनमा आउन र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा क्रमशः थलिँदै गएको सरकारकै प्रतिवेदनले देखाएको छ ।

सार्वजनिक संस्थानको सञ्चालन आम्दानी (आव २०७८/७९मा) ५ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष (२०७७/७८) मा ४ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ थियो ।

सञ्चालन आम्दानी ३६ प्रतिशतले बढाएको सार्वजनिक संस्थानको नाफामा भने करिब ९५ प्रतिशतले गिरावट आएको छ । नोक्सानी समेतलाई समायोजन गर्दा सरकारले यी संस्थानबाट जम्मा १ अर्ब ५४ करोड खुद नाफा गरेको देखिन्छ ।

जबकि नेपालको एउटा वाणिज्य बैंकले एक त्रैमासमा कमाउने नाफा भन्दा कम नाफा सार्वजनिक संस्थानहरुले एकवर्षमा कमाएको देखिन्छ ।

अस्तित्वमा रहेका २५ वटा संस्थानले नाफा गरेका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । १७ संस्थानले ६१० प्रतिशत घाटा व्यहोरेका छन् । दुईवटा संस्थानको कारोबार शून्य छ । जनकपुर चुरोट कारखाना अझै बन्द छ । विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको वयवसाय शुरुवाती अवस्थामै छ ।

यता नोक्सानीमा सञ्चालन भइरहेका नेपाल ओरियन्टल म्याग्नेसाइट, बुटवल धागो कारखानाले व्यावसायिक कारोबार नै गरेका छैन । कारोबार नै नगरेपनि कर्मचारीको खर्च राज्यले व्यहोरिरहेको छ ।

तर ती संस्थानहरुमा राज्यको लगानी वर्षेनी बढिरहेको छ । सार्वजनिक संस्थानमा सरकारको लगानी ६ खर्ब १८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा ८.९७ प्रतिशतले लगानी वृद्धि भएको हो । सार्वजनिक संस्थानको चुक्तापूँजी ३ खर्ब ७२ अर्ब ५५ करोड रुपैयाँ छ ।

कुन सार्वजनिक संस्थानमा सरकारको कति लगानी ?

सामाजिक क्षेत्रमा रहेका सबै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दूग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल औषधि लिमिटेडमा नेपाल सरकारको शतप्रतिशत शेयर लगानी रहेको छ ।

धौवादी फलाम कारखानामा निजी (प्रदेश र स्थानीय तहसहित) क्षेत्रसमेतको लगानी हुने व्यवस्था भए पनि हालसम्म नेपाल सरकारले मात्र लगानी गरेको छ ।

नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा. लि मा नेपाल सरकारको ८३.३३ प्रतिशत र अन्य सार्वजनिक तथा निजी क्षेत्रको १६.६७ प्रतिशत, बुटवल धागो कारखानामा नेपाल सरकारको ८९.७५ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको १०.२५ प्रतिशत, नेपाल मेटल कम्पनीमा नेपाल सरकारको ७१.३१ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको २८.६९ प्रतिशत शेयर लगानी रहेको छ ।

व्यापारिक क्षेत्रको संस्थानमध्ये खाद्य तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ भने कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको ९७.७१ प्रतिशत स्वामित्व रहेको छ ।

सेवा क्षेत्रका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल लि, नेपाल रेल्वे कम्पनी, नेपाल पूर्वाधार निर्माण कम्पनी र नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्रमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ ।

जनोपयोगी क्षेत्रतर्फ नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरण पूर्ण सरकारी स्वामित्वमा छन् भने वित्तीय क्षेत्रतर्फका राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लि. र नागरिक लगानी कोषमा नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरू तथा व्यक्तिको शेयर स्वामित्व रहेको छ भने अन्य सबै सार्वजनिक संस्थानमा नेपाल सरकारको अधिकांश स्वामित्व रहेको छ ।

सार्वजनिक संस्थानको कुल चुक्ता पूँजी ३ खर्ब ७२ अर्ब ५५ करोड ४१ लाखमध्ये नेपाल सरकारको पूँजी लगानी ९२.०६ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.९४ प्रतिशत शेयर स्वामित्व रहेको छ । क्षेत्रगत रूपमा विश्लेषण गर्दा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा नेपाल सरकारको ६१.५७ प्रतिशत शेयर रहेको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ३८.४३ प्रतिशत रहेको छ ।

औद्योगिक क्षेत्रमा सरकारको शेयर ९७.३५ प्रतिशत, व्यापारिक क्षेत्रमा ९९.३६ प्रतिशत, सेवा क्षेत्रमा ९९.५८ प्रतिशत, सामाजिक क्षेत्रमा शतप्रतिशत र जनउपयोगी क्षेत्रमा ९८.५५ प्रतिशत रहेको छ ।

सरकारको ढुकुटी रित्याउने सार्वजनिक संस्थान सञ्चालनको औचित्यमाथि नै पटक पटक प्रश्न उठ्दै आएको छ । सरकारले संस्थान सञ्चालनको मोडालिटी परिवर्तन नगरे संस्थानहरु राष्ट्रको अर्थतन्त्रका लागि अभिशाप बन्न सक्नेतर्फ विज्ञहरुले ध्यानाकर्षण गराएका छन् ।

 


प्रतिक्रिया

One thought on “राष्ट्रको ढुकुटी रित्याउँदै सार्वजनिक संस्थान

  1. कस्तो असान्दर्भिक शिर्षक ? संस्थानले कसरी राष्ट्रलाई घाटा पुर्याएको छ ? संस्थानहरू पार्टीको भर्ति केन्द्र भएर त त्यहाँ महान नेताहरुका झोले, चम्चे, हुक्के बैठकेहरु पालिएका छन् नि , ति संस्थान हुन्थेनन् भने ति सबै भिखारी हुन्थे नि पत्रकार मित्र । त्यतातिर पनि विचार गर्ने कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *