बुटवलमा राष्ट्रिय पार्क सम्मेलन सुरू – Nepal Press

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन सुरू

रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले राजश्वले चालू खर्च धान्ने बजेट ल्याउन सुझाव दिएका छन् ।

आर्थिक अवस्था संकटग्रस्त भएको बताउँदै उनले फजुल खर्च कटौती गरी राजस्वले चालु खर्च धान्नेगरी बजेट बनाउनुपर्ने सुझाएका हुन् ।

बुटवलमा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । पौडेलले मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरूसँग छलफल गरेर अघि बढ्न आग्रह गरे ।

पौडेलले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए । गुरुयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।

समुदायको सहयोग र व्यवस्थापनमा व्यवस्थित रूपमा सञ्चालनमा आएका उनको भनाइ छ ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री लीला गिरीले समुदायमा आधारित पार्कहरू व्यवस्थापन गरेर पर्यटन क्षेत्रमा सुधार ल्याउन सकिने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरू निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए ।

पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधैँ साथ र सहयोग रहने बताए ।सम्मेलनले पार्कहरूले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने मणि मुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइँटेलले बताए ।

पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधानको पहल सम्मेलनपछि थालिने उनले बताए ।

सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनले पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्नेछ ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका छन् सोही विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *