एसिया कपबारे नेपालको अडान- प्रतियोगिता समयमै हुनुपर्छ, जहाँ आयोजना भए पनि खेल्न तयार – Nepal Press

एसिया कपबारे नेपालको अडान- प्रतियोगिता समयमै हुनुपर्छ, जहाँ आयोजना भए पनि खेल्न तयार

काठमाडौं । एसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो ।

यसबीचमा पाकिस्तानले लचकता देखाउँदै ‘हाइब्रिड मोडल’ को प्रस्ताव गर्यो । जसअनुसार भारतले आफ्ना खेलहरु तेस्रो मुलुक (यूएई)मा खेल्ने र बाँकी खेलहरु पाकिस्तानमै गराउने भनिएको थियो । तर, त्यसलाई पनि भारतीय क्रिकेट बोर्डले स्वीकार गरेन । अहिले फेरि पाकिस्तानले कम्तिमा ४ वटा म्याच आफ्नो देशमा राख्न नयाँ प्रस्ताव गरेको छ ।

एसिया कपलाई लिएर भइरहेको यो विवादलाई नेपालले पनि निकै चासोका साथ हेरिरहेको छ, किनकी नेपाल पनि यो प्रतियोगिताको एउटा हिस्सा हो । गत महिना घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जितेर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको थियो । २१ वर्षअघि एसिया कपका लागि छनोट भएर पनि खेल्न वञ्चित गराइएको नेपाल यसपाली पाएको अवसर कुनै हालतमा गुमाउन चाहँदैन ।

एसिया कपका विषयमा दुई देशबीच तनाव भइरहँदा नेपालको यसमा अडान के हो त ? अहिलेसम्म कुनै पनि सरकारी निकायले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) मौन बसिरहेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द एसिया कप तोकिएकै समयमा आयोजना हुने आशा व्यक्त गर्छन् । अहिले उत्पन्न भएको विवाद चाँडै समाधान हुने उनको विश्वास छ ।

नेपाल प्रेससँग कुराकानी गर्दै चन्दले भने, ‘हामीले सबै कुराहरुलाई नजिकबाट नियालिरहेका छौं । प्रतियोगिता तोकिएकै समयमा हुन्छ भन्ने मलाई लाग्छ ।’

एसिया कप कहाँ आयोजना हुनु उचित हो भन्ने प्रश्नमा उनले यसमा नेपालको कुनै ‘स्ट्यान्ड’ नरहने बताए ।

‘यो नेपालका लागि निकै ठूलो प्रतियोगिता हो । अहिलेसम्म यस्तो ठूलो प्रतियोगिता खेल्न पाएका छैनौं । जहाँ आयोजना भए पनि हामी खेल्न जानेछौं,’ उनले भने ।

एसिया कपको विषयमा एसीसीले यस क्षेत्रका क्रिकेट खेल्ने राष्ट्रहरुसँग परामर्श र लविङ गरिरहेको छ । तर, अहिलेसम्म नेपालसँग कुनै कुराकानी नगरेको चन्दले बताए ।

‘उनीहरुले टेस्ट खेल्ने राष्ट्रहरुसँग कोअर्डिनेसन गरेका होलान् । हामीसँग त्यस्तो कुनै कुराकानी भएको छैन,’ उनले भने, ‘हामी एसीसीको बोर्डमा पनि छैनौं, सहभागी राष्ट्रको हिसाबले कुनै परामर्श भयो भने आफ्नो धारणा राख्ने नै छौं ।’

प्रतियोगितामा भारत र पाकिस्तान दुवै सहभागी होउन् भन्ने आफूहरुको चाहना रहेको चन्द बताउँछन् । उनीहरुमध्ये एउटा राष्ट्र नहुँदा प्रतियोगिताको औचित्यमा नै प्रश्न उठ्ने उनको भनाइ छ । एसिया कपको ब्रान्ड भ्यालु बढाउनका लागि पनि अहिले विवाद लम्ब्याइएको हुन सक्ने आशंका चन्दले व्यक्त गरे ।

पाकिस्तान, श्रीलंका वा यूएईमध्ये कहाँ प्रतियोगिता हुँदा नेपाली टिमका लागि अनुकुल होला भन्ने प्रश्नमा उनले भने, ‘पोहोर पनि गर्मीमा युएईमा खेलेका हौं । हामी जहाँ खेल्न पनि तयार छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर