अर्थतन्त्र सुधार्न अर्थमन्त्रीलाई मौद्रिक नीतिको भर, राष्ट्र बैंकले दिएन ‘ग्रीन सिग्नल’ – Nepal Press

अर्थतन्त्र सुधार्न अर्थमन्त्रीलाई मौद्रिक नीतिको भर, राष्ट्र बैंकले दिएन ‘ग्रीन सिग्नल’

काठमाडौं । गत साता पाकिस्तानको इस्लामावादमा दक्षिण एसियाली राष्ट्रहरु(सार्क)का गभर्नरहरुको उपस्थितिमा एउटा समिट भयो । नेपालबाट गभर्नर महाप्रसाद अधिकारीसहितको प्रतिनिधिमण्डलको उपस्थिति थियो ।

सबै गभर्नरहरुले आआफ्नो देशको मौद्रिक अवस्थाको जानकारी दिए । उपस्थित देशमध्ये सबैभन्दा नाजुक अवस्था श्रीलंकाको देखियो । पाकिस्तानको पनि हालत उस्तै भएको जानकारी त्यहाँका गभर्नरले दिए । पाकिस्तानमा तीन दिनलाई मात्र पुग्ने विदेशी मुद्रा सञ्चिती रहेको देखिन्छ ।

समिटमा उपस्थित देशमध्ये भारतपछि तुलनात्मक रुपमा नेपालको राम्रो अवस्था देखियो । उपस्थित केही गभर्नरले नेपाल राष्ट्र बैंकको भने खुलेरै प्रशंसा गरे । राष्ट्र बैंकको नीतिका कारण बाह्य क्षेत्रको दुर्घटनाबाट नेपाल बच्न सकेको भन्दै प्रशंसा भयो ।

‘नेपालले यहाँबाट पनि केही पाठ सिकेर आएको छ । यसकारण मौद्रिक नीतिको समीक्षामा निकै लचिलो हुने अवस्था छैन’, समिटमा सहभागी भएका राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यदि हामीले नगद मार्जिनको व्यवस्था नगरिदिएको भए त्यतिवेलै हाम्रो रिजर्भ सकिन्थ्यो । अहिले व्यापारी र लगानीकर्तालाई कम ब्याजदर चाहिएको छ । अर्कोतर्फ हाम्रा दाताहरु छन्, जसले अहिलेकै नीति ठीक छ भनेर हामीलाई दिने किस्ता फुकुवा गरेका छन् ।’

अहिले जनता मौद्रिक नीतिको समीक्षा लचिलो हुने आशामा छन् । अहिले नेपालको बाह्य क्षेत्र चिन्ता गर्नुपर्ने अवस्थामा छैन । महँगी पनि नियन्त्रणमै छ । सार्वजनिक ऋण र कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपात पनि सामान्य अवस्थामा छ । ब्याजदर घटाएर मनी सप्लाइ बढाउँदा महँगी बढ्छ । यसतर्फ ध्यान राख्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षामा जुटेको राष्ट्र बैंक चैतर्फी समस्या आएकाले प्राथमिकताका आधारमा सम्बोधन गर्ने पक्षमा छ । राष्ट्र बैंकका अनुसार अहिलेको पहिलो जिम्मेवारी आर्थिक गतिविधि बढाउनु हो । त्यसैले कसैको दबाब र प्रभावमा नपरी अर्थतन्त्र बढाउने नीति लिइने राष्ट्र बैंकको भनाइ छ ।

अर्थमन्त्रीलाई राष्ट्र बैंकको भर

यता अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति लचिलो आउने भन्दै विभिन्न सार्वजनिक फोरमहरुमा भन्दै आएका छन् । आइतबारमात्रै बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै मन्त्री महतले लचिलो मौद्रिक नीतिको आश्वासन दिए ।

वित्त नीतिबाट पूँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको कारण मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भएको बताएका महतले यस्तो समस्या वित्त नीतिभन्दा मौद्रिक नीतिले निम्त्याएको औंल्याए ।

उनले फिस्कल स्पेस नभएको बताएका छन् । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुनसक्छ । राष्ट्र बैंकका अधिकारीहरुले बैशाखको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाइसकेको मन्त्री महतको भनाइ थियो ।

अर्थमन्त्रीले खोजेको लचिलो मौद्रिक नीति कस्तो हो ? प्रश्न पनि छ । ‘मन्त्री महतले लगानीकर्ता र व्यवसायीलाई मात्र हेरेर भन्नुभएको जस्तो देखिन्छ । तर, हाम्रो बाह्य क्षेत्र पनि छ’, राष्ट्र बैंकका ती अधिकारीले भने ।

अहिले बैंकहरुको खराब कर्जा बढेर २.१६ प्रतिशत पुगेको छ । यसमा पनि आफूहरु सजग रहेको राष्ट्र बैंकको दाबी छ । अहिले अर्थतन्त्रको अवस्था राम्रो छैन । यस्तो अवस्थामा आर्थिक गतिविधि बढाउने दायित्व राष्ट्र बैंकको पनि हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमास (पुसदेखि चैत्रसम्म) समीक्षा यही साता गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले बजेट सार्वजनिक भएपछि आगामी वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीति बजेटले लिएको योजना र उद्देश्यलाई सघाउने गरी ल्याइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर