११ बुँदे घोषणापत्र जारी गर्दै प्रगतिशील वन प्राविधिक संघ गण्डकीको अधिवेशन सम्पन्न – Nepal Press

११ बुँदे घोषणापत्र जारी गर्दै प्रगतिशील वन प्राविधिक संघ गण्डकीको अधिवेशन सम्पन्न

पोखरा। ११ बुँदे घोषणापत्र जारी गर्दै प्रगतिशील वन प्राविधिक संघ गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशका प्रगतिशील वन प्रावाधिकहरु संगठित भई गठन गरिएको प्रगतिशील वन प्राविधिक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको हो ।

अधिवेशनले रुक्मागत सुवेदीको अध्यक्षतामा २३ सदस्य समिति सर्वसम्मत रूपमा छनौट गरेको छ भने २१ सदस्य केन्द्रीय प्रतिनिधि पनि छनौट गरेको छ ।
प्रगतिशील वन प्राविधिक संघ गण्डकी प्रदेशको उपाध्यक्षमा प्रवीण पौडेल, महिला उपाध्यक्षमा अंशु ढकाल,सचिवमा राजेश पोखरेल, उपसचिवमा हरिवंश न्यौपाने,सुधा ढुंगाना, कोषध्यक्षमा शंकर पुरी रहेका छन् ।

त्यस्तै सदस्यहरूमा टेक ब. बरुवाल,सन्तोष पोखरेल,सन्तोष खराल, चन्द्रमा खड्का, राजेश पौडेल,शालिग्राम पराजुली, श्रष्टि पुडासैनी, करुणा कार्की, झलका रसाईली लगायत छन् ।

अधिवेशनले वन¸ वन्यजन्तु¸ जलाधार¸ जलवायु परिवर्तन¸ वातावरण र जैविक विविधताको अध्ययन अध्यापनमा अहम भूमिका खेल्दै आइरहेको गण्डकी प्रदेशको धरोहर वन विज्ञान अध्ययन संस्थान¸ पोखरा क्याम्पसको पठनपाठनलाई आधुनिक¸ प्रविधिमैत्री¸ समयानुकूल र भूगोल सुहाउँदो बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने र प्रदेशमा मध्यम तहका वन प्राविधिक कर्मचारी उत्पादनका लागि डिप्लोमा इन फरेष्ट्री अध्ययनको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।

वन विज्ञान अध्ययन संस्थानलाई अध्ययन अनुसन्धानको कार्यमा सहकार्य र सहयोगको लागि प्रदेश सरकार र नेपाल सरकारसँग अनुरोध गर्ने र वन विज्ञानबाट दीक्षित वन प्राविधिकको ज्ञान¸ सीप र क्षमताको उच्चतम सदुपयोग गर्न तीनै तहका सरकार¸ सरकारी तथा गैरसरकारी संघसंस्था¸ निजी क्षेत्र र सरोकारवाला मार्फत थप रोजगारी सिर्जना गर्न आवश्यक पहलकदमी लिने निर्णय गरेको छ ।

सेवा प्रवाहलाई सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउँदै आवश्यकता र औचित्यताका आधारमा कार्यालय थप¸ सांगठनिक पुनर्संरचना र कर्मचारी दरबन्दी मिलान गर्ने देखी लामो समयदेखि रिक्त पदमा लोक सेवा आयोग मार्फत पदपूर्तिको व्यवस्था मिलाउन पहल गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै राज्य पुनर्संरचनासँगै समायोजन भई प्रदेशमा कार्यरत वन प्राविधिक कर्मचारीको मनोबल उच्च बनाउन समय समयमा सीप विकास तालिम¸ विदेश भ्रमण¸ क्षमता अभिवृद्धि¸ अध्ययन बिदा लगायतको व्यवस्था मिलाउन प्रदेश सरकार र नेपाल सरकारमा अनुरोध गर्ने ।

वन कर्मचारीको पदमा सहायक शब्द हटाई नेपालभर पदीय एकरूपता कायम गर्न र वन संगठनलाई चुस्त दुरुस्त बनाउन वन तथा भू संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

वन श्रमिक तथा कर्मचारीहरूको सुरक्षा तथा दुर्घटना बीमाको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गर्दै अधिवेशनले बाढी¸ पहिरो¸ डढेलो¸ खडेरी तथा जलवायु परिवर्तनका कारण अत्यन्त जोखिममा रहेको र यसका असरलाई न्यूनीकरण गर्न एकीकृत जलाधार व्यवस्थापन पद्धतिलाई अंगिकार गर्दै तल्लो तथा माथिल्लो तटीय क्षेत्रको सम्बन्ध स्थापित गर्ने पानीका श्रोत व्यवस्थापन गरी बहु आयामिक उपयोग¸ वातावरण संरक्षण¸ पारिस्थिकीय प्रणाली तथा जैविक विविधता कायम हुने गरी कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।

त्यस्तै मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणका लागि सफल राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको परिवेश सुहाउँदो प्रविधिको प्रयोग अवलम्बन गर्ने, वन्यजन्तुबाट हुने क्षतिको राहत संकलन र वितरण प्रणालीलाई सरलीकृत गर्न पहल गर्ने तथा नेपाल वन प्राविधिक परिषद यथाशिघ्र गठन गर्न प्रदेश सरकार मार्फत नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ ।

प्रथम अधिवेशनले केन्द्रीय प्रतिनिधिमा वविता न्यौपाने,हरि ब. थापा, मदन सुवेदी,वसन्त केशव अधिकारी,महेन्द्र थापा, केदार बराल,दिवाकर पौडेल, सरोज पन्थी, राजेन्द्र शर्मा, अमृत पौडेल, अञ्जु उपाध्य, सुजन महर्जन, हरी गौतम, कमल लम्साल, मदन कँडेल, गणेश कार्की,अमृत ज्ञावली, अशोक सुवेदी, उमेश पौडेल, विरेन्द्र कडेललाई छनौट गरेको छ ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नेपालजस्तो विकासोन्मुख मुलुकमा ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रको व्यवस्थापनले देशको अर्थतन्त्रमा अहम् भूमिका खेल्ने बताए ।

नेपालको वनलाई आर्थिक समृद्धिका रूपमा प्रयोग गर्दै संरक्षणका साथै वनबाट आर्थिक फाइदा लिनको लागि विद्यमान समस्याहरूको निवारण गर्न सरकारले चासो दिनुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रलाई नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्य, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव विशाल घिमिरे, पोखरा वन विज्ञान अध्ययन संस्थानका डिन विर ब. खनाल क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *