मंसिर ४ को आमनिर्वाचनमा गण्डकीका तत्कालीन मन्त्री हराउन अर्का मन्त्री लागेको अडियो सार्वजनिक – Nepal Press

मंसिर ४ को आमनिर्वाचनमा गण्डकीका तत्कालीन मन्त्री हराउन अर्का मन्त्री लागेको अडियो सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का गत मंसिर ४ को प्रदेशसभा निर्वाचनमा कास्की २ ‘ख’ बाट उम्मेदवार बन्न चाहन्थे । सोही क्षेत्रबाट अघिल्लोपटक निर्वाचित अर्का मन्त्री विन्दुकुमार थापा पनि आकांक्षी थिए । एउटै पार्टी नेपाली कांग्रेसबाट दुई हेभीवेटको आन्तरिक प्रतिस्पर्धा यति चर्कियो कि मन्त्री खड्काले टिकट पाएर जित्न उक्त क्षेत्रमा सक्दो बजेट खन्याए ।

थापा र खड्का दुवैले पार्टी सभापति शेरबहादुर देउवासमक्ष टिकटको लागि लबिङ पनि गरेकै थिए । तर, खड्काले टिकट पाएनन् । थापाले नै दोस्रो पटक टिकट पाए र उम्मेदवार बने । टिकट नपाएपछि मुर्मुरिएका खड्काले चुनावमा पार्टीकै उम्मेदवार थापालाई असहयोगको जेहाद छेडेको गाइँगुइँ निकै चल्यो । त्यस्ता केही प्रमाणै पनि भेटिएको भन्दै खड्कामाथि कारबाही गर्न दबाब सिर्जना भयो ।

निर्वाचनको मतदानको पाँच दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मन्त्री पदबाट बर्खास्तै गरे । बर्खास्तीलगत्तै पत्रकार सम्मेलन गरेर खड्काले विन्दुलाई सहयोग/असहयोग भन्दा पनि रुखमा भोट हाल्ने चाहिँ बताएका थिए ।

एमालेकी मीना गुरुङलाई पराजित गर्दै थापाले चुनाव जिते । त्यो प्रदेशसभा निर्वाचनमा थापालाई हराउन खड्काका कार्यकर्ताले गरेको कुराकानीको अडिओ भने अहिले बाहिरिएको छ ।

त्यो अडिओ क्लिपमा खड्का मन्त्री बनेका बेला स्वकीय सचिव रहेकी तथा हाल पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य भावना श्रेष्ठ र नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि गंगा केसीको आवाज छ । अर्काे अडिओमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको आवाज छ ।

अडिओ १

मतपत्र ४ वटा हुन्छ । पहिलो रातो हुन्छ । यो रातो भनेको प्रतिनिधिसभा हुन्छ, संघमा लड्ने हुन्छ, नि उहाँको । पहिलो कलममा हाल्ने, दोस्रो कालो, दोस्रो चाहिँ समानुपातिक हो, समानुपातिकमा रुखमा । तेस्रो रातो विन्दु थापालाई हराउनका लागि गर्नुपर्‍यो के, यसमा मीना गुरुङ हो के ! तेस्रो सूर्यमा, चौथोमा जे मा हाले नि हाल्नु भन्नू । पहिले यता सुन्नु मैले टार्गेट तेस्रोमा नै गर्छु । तेस्रो रातो सूर्यमा हो, अरु तपाईंको खुशी भन्दिए पनि हुन्छ । सुन्नु भो के भन्ने अरे !

पहिलो कलममा, दोस्रो रुखमा, तेस्रो सूर्यमा, चौथो जे मा हाले नि हाल्नू । बुझ्छन् नि पहिलोमा यो, दोस्रोमा यो, तेस्रोमा यो । अनि अर्काे कुरा पहिलो, दोस्रो जेसुकै गर्नु, तेस्रोमा हाल्ने जाने बेला रातो हुन्छ, तेस्रोमा सूर्यमा हाल्नु, अरु जे गर्दिए नि हुन्छ भन्दिए हुन्छ ।

अडिओ २

विन्दु थापाले ९ नम्बर वडा सदस्यको टिकट दिन सक्ने कि सक्ने थिएनन् ? सक्थ्यो हो ? तर, गर्‍यो ? तपाईंले त भन्नुभएको थियो त तपाईंका लागि एक कल फोन गर्‍यो ? खोइ त हामी नै हो नि टिकट दिने ठाउँमा । एक फोन आयो, कसैलाई आएन के ! त्यहाँबाट बुझ्नुस् के ! हार्‍यो त को हार्‍यो भन्दा कांग्रेस हार्‍यो भन्छन् । त्यहाँ कांग्रेसभन्दा पनि व्यक्ति हार्छ, त्यहाँ कांग्रेस हार्दैन । चिन्ह त कांग्रेसको छ नि, उनीहरुले व्यक्तिगत चिन्ह लिएको भए हुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर