झलनाथको सचिवालयले भन्यो- नियममै थिएन भने सुरक्षा टीमकै स्कटमा किन जहाजको ढोकासम्म गाडी पठाइयो ? – Nepal Press

झलनाथको सचिवालयले भन्यो- नियममै थिएन भने सुरक्षा टीमकै स्कटमा किन जहाजको ढोकासम्म गाडी पठाइयो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालको सचिवालयले अनुमतिबिना गाडी जहाजको ढोकासम्म पुगेको विषयमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

स्वकीय सचिव कृष्ण भट्टराईले प्रेस नोट जारी गर्दै बिना अनुमति डोमेस्टिक टर्मिनलको एप्रोनसम्म खनाललाई लिन गाडी पुग्यो भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नोटमा नियममै थिएन भने सुरक्षा टीमकै स्कटमा किन जहाजको ढोकासम्म गाडी पठाउन दिइयो भनि प्रतिप्रश्न गरिएको छ ।

यदि नियम कानून मै थिएन भने त्यहाँ जानुपूर्व नै नेपाल नागरिक उड्डयन प्राधिकरण वा अन्य सुरक्षा निकायले किन नरोकेको भनि प्रश्न गरिएको छ ।

‘के पूर्वप्रधानमन्त्रीको गाडी जबरजस्ती त्यहा गएको हो र ? एयरलाइन्स र त्यहाँ खटिने सुरक्षा टिमद्वारा नै स्कट गरेर जहाजकै ढोका सम्म किन पुर्याइयो ? नियममा थिएन भने किन यस्तो गरेको ?’, प्रश्न गरिएको छ ।

यो पनि पढ्नुस्ः अनुमतिबिना झलनाथलाई लिन आन्तरिक एप्रोनमा गाडी प्रवेश, मन्त्री किराँती भन्छन्- उचित छानबिन हुन्छ

‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल १९ गते जनकपुरबाट काठमाडौं आउदै गर्दा पहिलेकै सिस्टम अनुरुप नै एयरपोर्टको सुरक्षा टिम र नेपाल नागरिक उड्डयन प्राधिकरण र त्यो अर्न्तगत निकायहरुसंगको समन्वयमा पूर्वप्रधानमन्त्रीको गाडी आन्तरिक टर्मिनलसम्म पुगेको हो’, प्रेस नोटमा भनिएको छ, ‘यसभन्दा अगाडि पनि कैयौं पटक डोमेस्टिक एयरपोटबाट काठमाण्डौं बाहिर जाने र आउने त्यसै समन्वयको प्रक्रियाबाट अगाडि बढिरहेको अवस्था हो । हामी मात्र नभइ सबै पूर्व प्रधानमन्त्रीहरूले यहि सिस्टम अवलम्बन गर्दै आइरहेको अवस्था हो ।’

बुधबार नागरिक उड्डयनको हवाई सुरक्षा विभागले त्रिवि विमानस्थलको कार्यालयलाई झलनाथलाई लिन गाडी जहाजको ढोकैसम्म पुगेको विषयमा के भएको सत्यतथ्य जानकारी गराउन पत्राचार गरेको थियो । पर्यटनमन्त्री सुदन किराँतीले कानून सबैका लागि बराबर भएको र उचित छानबिन हुने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर